उद्धार राहत र पुनस्थापन बारे बुझ्न राष्ट्रपतिको भ्रमण

Spread the love

टिकाराम भन्डारि

बाढीको प्रभाव तथा त्यसबाट भएको जनधनको क्षतिबारे जिल्ला सुरक्षा समितिबाट जानकारी लिएका छन्। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षा समितिका सदस्यहरूले रसुवाबाट आएको बाढीले नुवाकोटमा पुर्‍याएको क्षतिबारे राष्ट्रपति पौडेललाई विवरण प्रस्तुत गरेका थिए।राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्। अवलोकनका क्रममा उनले बाढी प्रभावित तथा पीडित नागरिकसँग भेटघाट गर्दै उनीहरूका गुनासा र समस्या प्रत्यक्ष सुनेका छन्।

प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढीमा परेका नागरिकको खोज तथा उद्धार, राहत वितरण, पुनर्स्थापना तथा तत्काल आवश्यक संरचना निर्माणका लागि भइरहेको कामबारे समेत जानकारी गराएका थिए।यसक्रममा राष्ट्रपति पौडेलले नुवाकोटमा बाढी प्रभावित नागरिकलाई राखिएको होल्डिङ सेन्टरको पनि अवलोकन गरेका छन्। त्यहाँ रहेका पीडितहरूले भोटेकोशीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउँदै खोजी तथा उद्धार, राहत र पुनर्स्थापनाको कामलाई अझ प्रभावकारी बनाउन सरकार तथा सहयोगी निकायले थप तदारुकता देखाउनुपर्ने माग गरेका थिए।

पीडितहरूले बाढीबाट विस्थापित परिवारको तत्काल व्यवस्थापन, बेपत्ता नागरिकको खोजी र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।राष्ट्रपति पौडेलले सोमबार नै बाढी प्रभावित क्षेत्रअन्तर्गत नुवाकोटको त्रिशूलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवाका बाढी प्रभावित क्षेत्रको समेत स्थलगत अवलोकन गरेका छन्।बाढीबाट प्रभावित नागरिकको अवस्था बुझ्न तथा उद्धार, राहत र पुनर्स्थापनाका प्रयासबारे प्रत्यक्ष जानकारी लिन राष्ट्रपतिको यो भ्रमण भएको हो।