खोज उद्धार राहत तथा पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने-वापोङ सिरिसोर्न

Spread the love

बाढी प्रभावित क्षेत्रमा तत्काल प्रयोग गर्न सकिने आवश्यक राहत तथा उद्धार सामग्री विमानमार्फत नेपाल ल्याइएको बताइएको छ।नेपाल आइपुगेका ती सामग्री नेपालका लागि थाइल्यान्डका राजदूत वापोङ सिरिसोर्नले विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्।भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि राहत तथा उद्धार सामग्री बोकेको थाई एयर फोर्सको विमान काठमाडौं आइपुगेको छ।थाइल्यान्ड सरकारले पठाएको झण्डै २० हजार केजी राहत तथा उद्धार सामग्री बोकेको विमान आज बैंककबाट काठमाडौं अवतरण गरेको हो।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्य तीव्र भइरहेका बेला थाइल्यान्डको यो सहयोग प्रभावित परिवारसम्म आवश्यक सामग्री छिटो पुर्‍याउने उद्देश्यले आएको हो।नेपालको विपद्मा थाइल्यान्ड मात्रै होइन, विभिन्न मित्रराष्ट्रहरूले समेत सहयोगको हात अघि बढाएका छन्।यसअघि चीन, भारत, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, जापान, पाकिस्तान, श्रीलंका, बंगलादेश, अमेरिका, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, सिंगापुर र बेलायत लगायतका देशबाट राहत, उद्धार सामग्री तथा प्राविधिक सहयोग उपलब्ध भएको बताइएको छ।विभिन्न मुलुकबाट प्राप्त सहयोगले बाढीपछिको खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।