आबद्धताको विषयमा छुट्टै कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढ्न सक्ने

Spread the love

उच्च सैनिक स्रोतका अनुसार गैरनाफामूलक कम्पनीका रूपमा दर्ता भएको उक्त संस्थाको दर्ता हालै खारेज गरिएको हो। दर्ता खारेजीसँगै कम्पनीका रूपमा सञ्चालन हुँदै आएका गतिविधिमा समेत कानुनी असर पर्ने अवस्था आएको छ।भोटेकोशी–त्रिशूली बाढीपछि राहत तथा उद्धारका गतिविधिमा सैनिकसँग मिल्दोजुल्दो पोशाकमा देखिएपछि विवादमा आएको ‘ग्रिन आर्मी’ नामक संस्थाको कम्पनी दर्ता खारेज गरिएको बताइएको छ।ग्रिन आर्मी’ २०७७ साउनमा कम्पनी रजिष्ट्रारको कार्यालयमा गैरनाफामूलक कम्पनीका रूपमा दर्ता भएको थियो। वातावरण संरक्षण, फोहोर व्यवस्थापन, प्राथमिक उपचार तथा विपद् व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्ने उद्देश्य संस्थाले राखेको थियो।तर संस्थाले नाममा ‘आर्मी’ शब्द, सैनिकसँग मिल्दोजुल्दो हरियो पोशाक, दर्ज्यानी चिह्न तथा मार्शल र क्याडेटजस्ता संरचना प्रयोग गरेपछि यसको स्वरूप र वैधानिकतामाथि प्रश्न उठ्दै आएको थियो।

हालैको बाढीपछि संस्थाका सदस्यहरू फिल्डमा सैनिक शैलीको पोशाकमा देखिएपछि विवाद थप चर्किएको हो। यस विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले विगतमा पोशाक प्रयोगसम्बन्धी अनुमति कसरी दिइएको थियो भन्नेबारे समेत जानकारी लिने काम भइरहेको जनाएको छ।सुरक्षा मामिलाका जानकारहरूले गैरसैनिक संस्थाले सेनासँग भ्रम सिर्जना हुने गरी नाम, पोशाक वा संरचना प्रयोग गर्नु संवेदनशील विषय भएको बताएका छन्।तर एउटा महत्वपूर्ण पक्ष भने बाँकी छ—ग्रिन आर्मीको समाज कल्याण परिषद्सँगको आबद्धता भने अहिलेसम्म खारेज भएको छैन। परिषद्का अनुसार सामाजिक कार्यका लागि भएको आबद्धता खारेज गर्न छुट्टै प्रक्रिया आवश्यक हुन्छ।यससँगै कम्पनी दर्ता खारेज भए पनि समाज कल्याण परिषद्सँगको आबद्धताको विषयमा छुट्टै कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढ्न सक्ने देखिएको छ।