अमेरिकाले बाढी प्रभावित नेपाली नागरिकको राहत उद्धार पुनःस्थापनाका लागि थप सहयाेग गर्ने
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकाबाट दुई अमेरिकी सैन्य कार्गो विमानमार्फत खोज, उद्धार तथा पुनःस्थापनामा प्रयोग हुने ठूलो परिमाणको राहत तथा विपद् प्रतिकार्य सामग्री नेपाल ल्याइएको हो।रसुवामा अगस्ट २६ मा आएको विनाशकारी भोटेकोशी बाढीपछि अमेरिकाले नेपाललाई थप मानवीय तथा विपद् प्रतिकार्य सहयोग उपलब्ध गराएको छ।
अमेरिकाबाट आएको पछिल्लो सहायता खेपमा ५ हजार विशेष विपद् प्रतिकार्य तथा पीडित व्यवस्थापन सामग्री, ५०० वटा प्राथमिक उपचार किट, स्ट्रेचर तथा फ्रन्ट–एन्ड लोडरलगायत भारी उपकरण रहेका छन्।यी सामग्री भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाल सरकारको नेतृत्वमा भइरहेको खोज, उद्धार तथा पुनःस्थापना अभियानमा प्रयोग गरिने अमेरिकी दूतावासले जनाएको छ।नेपालको आवश्यकताका आधारमा तत्काल सहयोग
अमेरिकी दूतावासका अनुसार नेपाल सरकारले आवश्यक सामग्रीका लागि गरेको अनुरोधका आधारमा पछिल्लो सहायता तत्काल पठाइएको हो।बाढी प्रभावित क्षेत्रमा कठिन भूगोल, ठूलो मात्रामा थुप्रिएको माटो तथा भग्नावशेष हटाउनुपर्ने अवस्था रहेकाले उद्धार कार्यमा सहयोग पुर्याउन भारी उपकरणसमेत पठाइएको जनाइएको छ।विशेषगरी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका क्रममा आवश्यक पर्ने प्राथमिक उपचार सामग्री, स्ट्रेचर तथा अन्य विपद् प्रतिकार्य सामग्रीले उद्धारकर्मीलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।यसअघि घोषणा गरिएको सहयोगभन्दा अतिरिक्तअमेरिकाले भोटेकोशी बाढीपछि यसअघि घोषणा गरेको ३.६ मिलियन अमेरिकी डलर बराबरको सहयोगभन्दा पछिल्लो सहायता अतिरिक्त रहेको अमेरिकी दूतावासले जनाएको छ।
यससँगै अमेरिकाले बाढी तथा विपद्बाट प्रभावित नेपाली नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि थप सहयोग उपलब्ध गराएको हो।अमेरिकी दूतावासले कठिन परिस्थितिमा प्रभावित समुदायलाई सहयोग गर्न नेपालसँगको लामो समयदेखिको साझेदारीअनुसार मानवीय तथा विपद् प्रतिकार्य सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।भोटेकोशी बाढीपछि नेपालमा खोज, उद्धार तथा पुनःस्थापनाको काम चुनौतीपूर्ण भइरहेका बेला अमेरिकी सैन्य विमानमार्फत आएको राहत सामग्री र भारी उपकरणले प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको अभियानलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
