नेपाल तिमी एक्लो छैनाै – अभिनेता साेनु सुद
भदौ १० गते नेपालमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि साेनु सुदले सामाजिक सञ्जालमार्फत नेपाललाई सहयोग गर्ने घोषणा गरेका थिए। सोही प्रतिबद्धताअनुसार उनी मङ्गलबार राहत सामग्री लिएर काठमाडौँ आइपुगेका हुन्।नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न बलिउड अभिनेता सोनु सुद राहत सामग्रीसहित नेपाल आइपुगेका छन्।
नेपाल बाढीबाट प्रभावित भएको समाचार सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमा ‘नेपाल, तिमी एक्लो छैनौ’ भन्दै आफूहरू खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक सहयोग लिएर आउने बताएका थिए।सुदले बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने राहत तथा मानवीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए।उनको नेपाल आगमनलाई विपद्को कठिन समयमा छिमेकी मुलुकबाट प्राप्त मानवीय सहयोगका रूपमा हेरिएको छ। बाढीका कारण प्रभावित परिवारहरू उद्धार, राहत र पुनःस्थापनाको पर्खाइमा रहेका बेला सुदको यो पहलले राहत अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।सुद यसअघि पनि विपद् तथा संकटमा परेका मानिसलाई व्यक्तिगत रूपमा सहयोग गर्दै आएका छन्। नेपालमा आएको विपद्पछि उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा सहयोगको प्रतिबद्धता जनाएका थिए, जुन पूरा गर्न उनी आफैँ नेपाल आइपुगेका हुन्।
