तथ्यहीन अभिव्यक्ति तथा गालीबेइजती गरेको आरोपमा युवराज पौडेल पक्राउ

Spread the love

‘युवराज सफल’ नामले चिनिने युवराज पौडेल सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गालीबेइजती गरेको आरोपमा पक्राउ परेका छन्। महान्यायाधिवक्ताको कार्यालय तथा महान्यायाधिवक्तालाई लक्षित गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्द र गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोप उनीमाथि लागेको छ।महान्यायाधिवक्ता र कार्यालयविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको विषयमा माघ ८ गते महान्यायाधिवक्ताको कार्यालयले आवश्यक कानुनी कारबाहीका लागि प्रहरीलाई पत्र पठाएको थियो। उक्त पत्र प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, पौडेलले महान्यायाधिवक्ता र कार्यालयबारे तथ्यहीन आरोप लगाउँदै भिडियो तयार गरी सामाजिक सञ्जालमा पोस्ट गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो। पक्राउपछि काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी घटनासम्बन्धी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सामाजिक सञ्जालको प्रयोग गर्दा जिम्मेवार र मर्यादित अभिव्यक्ति आवश्यक हुने भन्दै कानुनविपरीतका गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने छ। घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक परे कानुनअनुसार थप कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ।