विद्यालयमा अध्ययनरत विद्यार्थीसँग एकपटक मात्र भर्ना शुल्क लिन निर्देशन उल्लंघन गर्ने विद्यालयमाथि कडा कारबाही गरिने
शिक्षा मन्त्रालयले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग एकपटक मात्र भर्ना शुल्क लिन निर्देशन दिएको छ। साथै, शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना नगर्न पनि देशभरका विद्यालयहरूलाई स्पष्ट निर्देशन दिइएको छ।मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोख्रेलद्वारा हस्ताक्षरित पत्रमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै देशभरका ७५३ स्थानीय तहलाई यसको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न अनुरोध गरिएको छ। केही विद्यालयले अग्रिम भर्ना गर्ने, बढी शुल्क असुल गर्ने तथा एउटै विद्यालयमा कक्षा परिवर्तन हुँदा पुनः भर्ना शुल्क लिने गुनासो बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।
शिक्षा नियमावली २०५९ को व्यवस्था अनुसार शैक्षिक सत्र सुरु नभई भर्ना गर्न नपाइने प्रावधान रहेको स्मरण गराउँदै मन्त्रालयले नियमविपरीत उठाइएको अग्रिम शुल्क तत्काल अभिभावकलाई फिर्ता गर्न निर्देशन दिएको छ। साथै, निर्देशन उल्लंघन गर्ने विद्यालयमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ।
