अब्बास अरागचीले तनाव कम गर्न र युद्धविरामको सहयोग पुर्याएकोमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख लाई धन्यवाद
इरानका विदेशमन्त्री अब्बास अरागचीले मध्यपूर्वमा जारी तनाव कम गर्न र युद्धविरामको प्रयासमा सहयोग पुर्याएको भन्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख (फिल्ड मार्शल) असिम मुनीरलाई विशेष धन्यवाद दिएका छन्। सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले पाकिस्तान नेतृत्वले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेका हुन्।
अरागचीका अनुसार प्रधानमन्त्री शरीफले भ्रातृत्वको अपील गरेका थिए भने अमेरिकाले १५ बुँदे वार्ताको प्रस्ताव अघि सारेको थियो। साथै, राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको १० बुँदे प्रस्तावलाई वार्ताको आधारको रूपमा स्वीकार गर्ने संकेत गरेपछि वार्ताको वातावरण सकारात्मक बनेको उनले बताएका छन्।इरानले स्पष्ट सर्त राख्दै आक्रमण रोकिने हो भने आफ्ना रक्षात्मक कारबाही पनि रोक्ने जनाएको छ। साथै, ‘स्ट्रेट अफ होर्मुज’मार्फत सुरक्षित आवागमन आगामी दुई हप्तासम्म सुचारु राख्न सकिने जानकारी दिइएको छ। यसैबीच, अप्रिल १० मा इस्लामावादमा अमेरिका–इरानबीच वार्ता हुने तयारी रहेको जनाउँदै पाकिस्तानले दुबै पक्षलाई वार्ताका लागि आमन्त्रण गरेको छ।
