शिक्षण अस्पतालमा प्रशासन विरुद्ध नाराबाजी बिरामिलाई बेड नदिएकाे आराेप

Spread the love

डायलासीस गराउँदै आएका थापालाई स्ट्रोक (मस्तिष्कघात) को समस्या देखिएपछि उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो। तर अस्पतालमा तत्काल बेड उपलब्ध नभएपछि उनको उपचार अघि बढ्न सकेन।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि ल्याइएका मोरङका ४५ वर्षीय डोलबहादुर थापाको शुक्रबार आकस्मिक कक्षबाहिर मृत्यु भएको छ।

अस्पतालका सूचना अधिकारी काली प्रसाद रोस्याराका अनुसार चिकित्सकले बेड व्यवस्थापनका लागि केही समय मागेका थिए। तर आफन्तले बिरामीलाई अर्को अस्पताल लैजान खोजेपछि एम्बुलेन्समै उनको मृत्यु भएको हो।रोस्याराका अनुसार थापा यसअघि केएमसीबाट उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएका बिरामी थिए। उनले अस्पतालमा बेड उपलब्ध नभएको जानकारी दिएका छन्।

बिरामीको समयमै उपचार हुन नसकेको भन्दै आक्रोशित आफन्तले अस्पताल प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका छन्।अस्पताल प्रशासनका अनुसार बेड व्यवस्थापनको प्रयास भइरहेको अवस्थामा आफन्तले बिरामीलाई अन्यत्र लैजान खोजेका थिए। सोही क्रममा एम्बुलेन्समै बिरामीको मृत्यु भएको अस्पतालको भनाइ छ।उक्त घटनाले सरकारी अस्पतालमा आकस्मिक उपचारका लागि आउने बिरामीका लागि बेड व्यवस्थापन र आपत्कालीन स्वास्थ्य सेवाको अवस्थामाथि पुनः प्रश्न उठाएको छ।