स्वास्थ्य अवस्थामा सुधार आएपछि जगन्नाथ थपलियाको प्रेस बिज्ञप्ति
सबिना प्रजा
बागमती प्रदेशका समसामयिक राजनीतिक विषयमा केन्द्रित छलफलमा सहभागी भएका बेला रक्तचाप र मधुमेहमा असन्तुलन देखिएपछि स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको जगन्नाथ थपलियाले बताएका छन्।
थपलियाका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार थप परीक्षण तथा उपचारका लागि करिब ६ दिन वीर अस्पतालमा भर्ना भएर उपचार गराएका थिए। आवश्यक परीक्षण, चिकित्सकीय निगरानी र उपचारपछि अहिले स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको उनले जनाएका छन्।
उनले वीर अस्पतालका प्रा.डा. ध्रुव गैरेको नेतृत्वमा रहेको चिकित्सक टोलीप्रति विशेष आभार व्यक्त गरेका छन्। चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयास र सहयोगका कारण आफ्नो स्वास्थ्य अवस्थामा सुधार ल्याउन सम्भव भएको उनले बताएका छन्।स्वास्थ्य अवस्थाबारे जानकारी लिन, उपचारका क्रममा हौसला प्रदान गर्न तथा शीघ्र स्वास्थ्यलाभको कामना गर्न आउने राजनीतिक दलका नेतागण, सहकर्मी, कार्यकर्ता, आफन्त तथा शुभेच्छुकहरूप्रति उनले धन्यवाद व्यक्त गरेका छन्। प्रत्यक्ष भेटघाट सम्भव नभए पनि फोन, सामाजिक सञ्जाललगायत माध्यमबाट स्वास्थ्यलाभको शुभकामना दिने सबैप्रति पनि उनले आभार प्रकट गरेका छन्।
थपलियाले हाल स्वास्थ्यमा सुधार भइरहेको भए पनि आफू पूर्ण रूपमा स्वस्थ भइनसकेको बताएका छन्। चिकित्सकहरूको सल्लाहअनुसार केही समय नियमित औषधि सेवन, पर्याप्त आराम तथा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने भएकाले तत्काल पूर्ववत् रूपमा राजनीतिक तथा सार्वजनिक गतिविधिमा सक्रिय हुन नसकेको उनले स्पष्ट पारेका छन्।यसै क्रममा आफ्नो स्वास्थ्य अवस्था तथा राजनीतिक जिम्मेवारीसँग सम्बन्धित विषयमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका अपूर्ण, गलत वा अतिरञ्जित सूचना तथा समाचारलाई आधार बनाएर निष्कर्षमा नपुग्न उनले सबैसँग आग्रह गरेका छन्।स्वास्थ्यलाभपछि अझ बढी ऊर्जा र प्रतिबद्धताका साथ नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई बागमती प्रदेशमा थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउन राष्ट्रियस्तरमा पार्टीको भूमिकालाई अझ बलियो बनाउने आफ्नो जिम्मेवारीमा निरन्तर समर्पित रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
