मुलुकभित्र उपलब्ध स्रोतको प्रभावकारी परिचालन गर्दै वित्तीय अनुशासन कायम गर्ने

Spread the love

अर्थमन्त्री डा स्वर्णेम वाग्लेका अनुसार सरकारको प्राथमिकता ऋण लिएर मात्रै विकास गर्ने प्रवृत्तिलाई निरन्तरता दिनुभन्दा मुलुकको आन्तरिक स्रोत परिचालन क्षमता बढाउनु हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैदेशिक तथा आन्तरिक ऋणमाथिको निर्भरता क्रमशः घटाउँदै मुलुकको आफ्नै आम्दानीबाट विकास निर्माण अघि बढाउने लक्ष्यसहित सरकारले बजेट ल्याएको बताएका छन्। त्यसका लागि करको दायरा विस्तार गर्दै राजस्वको आधार बलियो बनाउने सरकारको योजना रहेको उनले स्पष्ट पारेका छन्।

करको दायरा फराकिलो बनाउँदै राज्यको आम्दानी वृद्धि गर्ने र त्यसलाई विकास तथा आर्थिक गतिविधिमा परिचालन गर्ने नीति बजेटले लिएको उनले बताए।सरकारले करको दायरा विस्तार गर्दा आर्थिक गतिविधिलाई समेत प्रोत्साहन गर्ने गरी नीति अघि बढाउने उनको भनाइ छ। मुलुकभित्र उपलब्ध स्रोतको प्रभावकारी परिचालन गर्दै वित्तीय अनुशासन कायम गर्ने र ऋणको भार क्रमशः कम गर्दै लैजाने लक्ष्य राखिएको उनले बताएका छन्।

अर्थमन्त्री वाग्लेले विदेशमा रहेका नेपालीलाई स्वदेशमा लगानी गर्न आकर्षित गर्ने विषयलाई पनि सरकारले प्राथमिकतामा राखेको जानकारी दिएका छन्। प्रवासी नेपालीसँग रहेको पुँजी, सीप, अनुभव र व्यावसायिक क्षमतालाई नेपालको आर्थिक विकाससँग जोड्न सहज लगानी वातावरण निर्माण गरिने उनको भनाइ छ।प्रवासी नेपालीलाई नेपालमा लगानी गर्दा देखिने प्रक्रियागत तथा अन्य व्यावहारिक कठिनाइ कम गर्दै लगानीमैत्री वातावरण बनाउने दिशामा सरकारले काम गर्ने उनले बताएका छन्। यसबाट स्वदेशमा पुँजी परिचालनसँगै नयाँ व्यवसाय, उत्पादन र रोजगारी सिर्जनामा सहयोग पुग्ने सरकारको अपेक्षा छ।ऋणमा निर्भर अर्थतन्त्रबाट आन्तरिक आम्दानीमा आधारित अर्थतन्त्रतर्फ अघि बढ्ने लक्ष्य प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले करको दायरा विस्तार र प्रवासी नेपालीको लगानी परिचालनलाई त्यसको महत्वपूर्ण आधारका रूपमा अघि सारेका छन्।