पहाडका ९ जिल्लाका सह सचिवको दरबन्दी कटाैति
गृह मन्त्रालय तथा अन्तर्गतका कार्यालयको गरिएको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण(ओएन्डएम)मा बैतडी, डडेल्धुरा, अछाम, जुम्ला, सल्यान, जाजरकोट, रोल्पा, भोजपुर र खोटाङ जिल्लाका अब उपसचिव सरहका प्रजिअको दरबन्दी कायम भएको छ । सह सचिव तहका अधिकारी प्रमुख जिल्ला अधिकारी(प्रजिअ) हुने पहाडका विभिन्न ९ जिल्लाका सह सचिवको दरबन्दी काटिएको छ । अब ती जिल्लामा उपसचिव तहका अधिकारी प्रजिअ(सिडिओ) खटाइने छ।
गृहका प्रवक्ता आनन्द काफ्लेले मन्त्रालय अन्तर्गत समग्रमा ९ जना सहसचिवको दरबन्दी कटौती गरिएको जानकारी दिए । जिल्लाको जनसंख्या, कामको चाप तथा शान्ति सुरक्षाका चुनौतिको विश्लेषण गरेर दरबन्दी व्यवस्थापन गरिएको उनले बताए । स्वीकृत नयाँ संगठन तथा दरबन्दी संरचना राष्ट्रिय किताबखानामा दर्ताका लागि मन्त्रालयले पठाइसकेको छ ।७७ मध्ये ६१ जिल्लाको प्रजिअमा सह सचिवको दरबन्दी कायम थियो । अब ५२ जिल्लामा सह सचिव तहका अधिकारी प्रजिअ हुनेछन् । मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाकी प्रमुख मीना अर्यालले जिल्ला प्रशासन कार्यालयबाट ९ जना तथा गौतमबुद्ध विमानस्थल भैरहवाको अध्यागमन कार्यालयमा रहेको एक गरी जम्मा १० जना सहसचिवको दरबन्दी कटौती भएको बताएकी छन् ।
तर, एक जना सह सचिवको दरबन्दी थप समेत भएकाले कटौती हुने संख्या ९ हुन गएको उनले भनिन् । त्यस्तै मन्त्रालय मातहत लागु औषध नियन्त्रण विभाग स्थापना गरिएको छ । उक्त नयाँ विभागको नेतृत्व सह सचिवले गर्ने छन् । मन्त्रालय अन्तर्गत रहेको विभुषण, शान्ति प्रवर्द्धन तथा लागु औषध गरी तीनवटा शाखालाई हटाइएको अर्यालले जानकारी दिइन । कामको चाप कम रहेका शाखाहरूको जिम्मेवारी अन्य शाखामा सारेर त्यसलाई खारेज गरिएको हो । पोखरा तथा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि दुई/दुई वटा अध्यागमन कार्यालय थिए । त्यसलाई गाभिएर दुवै स्थानमा एक/एक कार्यालय कायम गरिएको छ ।
