नेपालका प्रधानमन्त्रीले पदभार ग्रहण गरेकै बेला भारतीय प्रधानमन्त्रीले भ्रमणको निमन्त्रणा पठाइसकेको भनाई

Spread the love

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सुगौली सन्धिको सक्कल प्रति कोसँग छ भन्ने विषयमा चर्चा भएको थियो। सन् १८१६ मा नेपाल र तत्कालीन ब्रिटिस भारतबीच भएको सुगौली सन्धिको सक्कल प्रति कहाँ छ भन्ने विषयमा नेपालमा चर्चा भइरहेका बेला भारतले यसबारे प्रतिक्रिया दिएको छ।

त्यसपछि मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाललाई सञ्चारकर्मीले यसै विषयमा प्रश्न गरेका थिए।नेपालका विदेशमन्त्रीले सुगौली सन्धिको सक्कल प्रति फेला नपारेको भनेका छन् नि ?’ भन्ने प्रश्नको जवाफ दिँदै जयसवालले नेपाल–भारत सम्बन्ध राम्रो रहेको बताए।उनले भने, ‘भारत र नेपालबीचको सम्बन्ध धेरै राम्रो छ । कतिपय विषयमा सहमति नभएको हुनसक्छ । तर, त्यस प्रकारका मुद्दाका लागि दुई पक्षीय संयन्त्र छ । त्यसैमार्फत कुराकानी गर्नसक्छौं ।’

नेपाल र तत्कालीन ब्रिटिस भारतबीचको युद्ध अन्त्य गर्न सन् १८१६ मा सुगौली सन्धि भएको थियो। उक्त सन्धिले नेपालको पश्चिम तथा दक्षिणतर्फको सीमासम्बन्धी व्यवस्था गरेको थियो।सुगौली सन्धिलगायतका प्रमाणका आधारमा नेपालले २०७७ सालमा लिम्पियाधुरासहितको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो। सन्धिमा काली नदीको पूर्वतर्फका भूभाग नेपालको भएको उल्लेख रहेको नेपालले दाबी गर्दै आएको छ।यसैबीच, भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूतबीच भएको भेटबारे पनि धारणा राखेका छन्।दुई पक्षीय विषयमा छलफल भएको बताउँदै उनले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा यसअघि नै दिइसकिएको जानकारी दिए।जयसवालले भने, ‘दुई पक्षीय मुद्दामा प्रकाश पार्नेगरि बातचीत भएको हो । हामीले निमन्त्रणा दिइसकेका छौं।’नेपालका प्रधानमन्त्रीले पदभार ग्रहण गरेकै बेला भारतीय प्रधानमन्त्रीले भ्रमणको निमन्त्रणा पठाइसकेको उनको भनाइ थियो। यसबारे थप जानकारी प्राप्त भएमा जानकारी गराउने पनि उनले बताएका छन्।