संवेदनशील घटनाहरू बारम्बार दोहोरिनु सरकार जिम्मेवारी निर्वाह गर्न असफल- भीष्मराज आङदेम्बेको
शान्ति व्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको गम्भीर कमजोरी भएको टिप्पणी गर्दै घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा भएको घटनाबारे गृहमन्त्रीले संसद् र जनतासामु जवाफ दिनुपर्ने माग गरेको छ। कांग्रेसका नेता भीष्मराज आङदेम्बेले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।
उनका अनुसार सुरक्षाकर्मीले कानुनको पालना गर्दै अधिकतम संयमता अपनाएर शान्ति र सुरक्षाको वातावरण कायम गर्नुपर्ने दायित्व रहेको छ।उनले हिंसा, आगजनी, तोडफोड र प्रतिशोधबाट कुनै पनि समस्याको समाधान ननिस्कने उल्लेख गर्दै सबै पक्षलाई संयम अपनाउन, सामाजिक सद्भाव कायम राख्न र कानुनी प्रक्रियामार्फत समस्या समाधानतर्फ अघि बढ्न आग्रह गरेका छन्।
कांग्रेसले पछिल्लो समय सरकारप्रति नागरिकमा असन्तोष बढ्दै गएको दाबी पनि गरेको छ। आत्मदाहजस्ता दुःखद घटना तथा शान्ति–सुरक्षासँग सम्बन्धित संवेदनशील घटनाहरू बारम्बार दोहोरिनुले सरकार जिम्मेवारी निर्वाह गर्न असफल भएको आङदेम्बेको भनाइ छ।उनले संवेदनशील परिस्थितिमा जिम्मेवार व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत असहिष्णुता फैलाउने गतिविधि नगर्न पनि आग्रह गरेका छन्। साथै, कुनै पनि उक्साहट वा अफवाहको पछि नलागी संवाद, सहिष्णुता र कानुनी प्रक्रियाबाट समस्या समाधान खोज्न सबै पक्षलाई अपिल गरेका छन्।
