३०० शैयाको शिक्षण अस्पताल सञ्चालन गरी एमबीबीएस शैक्षिक कार्यक्रम अघि बढाइने

Spread the love

शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलको नेतृत्वमा रहेको सरकारी वार्ता टोली र डा. केसीबीच भएको वार्तापछि सहमति भएको हो। सहमतिपत्रमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र शिक्षा मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालले पनि हस्ताक्षर गरेका छन्।चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसी र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ। सहमतिसँगै धनगढीमा चार दिनदेखि जारी २४औँ सत्याग्रह (अनशन) उनले औपचारिक रूपमा अन्त्य गरेका छन्।

सहमतिअनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा कम्तीमा ३०० शैयाको शिक्षण अस्पताल सञ्चालन गरी एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम तत्काल अघि बढाइनेछ। साथै, विश्वविद्यालय ऐन संशोधन प्रक्रिया संघीय संसद्को चालु अधिवेशनमै अघि बढाइने प्रतिबद्धता सरकारले जनाएको छ।

त्यस्तै, निजी मेडिकल कलेजमा सिट नबढाउने, सार्वजनिक शिक्षण संस्थामा आवश्यकताअनुसार सिट विस्तार गर्ने, छात्रवृत्ति व्यवस्था यथावत् राख्ने तथा चिकित्सा शिक्षालाई क्रमशः गैरनाफामूलक र सेवामूलक बनाउने विषयमा अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने सहमति भएको छ।सहमतिमा विगतका सरकार–डा. केसीबीच भएका सहमतिहरूको कार्यान्वयन समीक्षा गर्न कार्यदल गठन, गेटा विश्वविद्यालयको पूर्वाधार विकास, सीमावर्ती क्षेत्रका स्वास्थ्य सेवाको विस्तार तथा सहमति कार्यान्वयनको अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने व्यवस्था पनि समावेश गरिएको छ।