सांसदको शैलीलाई व्यापक प्रतिक्रिया मतदाताका प्रश्न जिम्मेवार ढंगले जवाफ दिनुपर्ने
सांसद खनालले आफ्नो सम्बोधनका क्रममा एक सहभागीले प्रश्न उठाएपछि आक्रोशित हुँदै प्रमाण मागेको र कडा शैलीमा प्रतिक्रिया दिएको देखिन्छ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनाल पुनः विवादमा तानिएका छन्। सार्वजनिक कार्यक्रममा प्रश्न सोध्ने एक मतदातासँग उनले रुखो शैलीमा प्रतिक्रिया दिएको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएको छ।
भिडियोमा उनले भनेका छन्, “कल्ले भन्यो? प्रमाण छ? हाल्छु, जाक्छु समातेर अनि थाहा हुन्छ। कल्ले भन्यो? यस्ता मान्छेलाई त तपाईंहरूले सदस्यमा राख्नुभएको छ।”त्यसपछि कार्यक्रममा उपस्थित केही कार्यकर्ता पनि प्रश्न सोध्ने व्यक्तितर्फ आक्रामक रूपमा प्रस्तुत भएको भिडियोमा देखिन्छ। त्यसक्रममा सांसद खनालले “यस्तो पदलाई लापरबाही गर्ने तपाईं?” भन्दै थप प्रतिक्रिया दिएको सुनिन्छ।
भिडियोमा विवादको सुरुआत के कारण भयो भन्ने विषय स्पष्ट देखिँदैन। यद्यपि, प्रश्न उठाउने व्यक्तिसँग सांसदको प्रस्तुत शैलीलाई लिएर व्यापक प्रतिक्रिया आएको छ।यसअघि पनि विवादास्पद अभिव्यक्तिसांसद खनाल यसअघि पनि आफ्नै निर्वाचन क्षेत्रका प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिबारे दिएको अभिव्यक्तिका कारण आलोचित बनेका थिए।
त्यतिबेला उनले संघीय सांसदको भूमिका स्पष्ट पार्ने क्रममा स्थानीय विकासका काम गाउँपालिका र स्थानीय तहको जिम्मेवारी भएको उल्लेख गर्दै स्थानीय जनप्रतिनिधिप्रति टिप्पणी गरेका थिए। उक्त अभिव्यक्तिपछि पनि उनको शैलीप्रति विभिन्न राजनीतिक वृत्त आलोचना भएको थियो।भाइरल भिडियोपछि सामाजिक सञ्जालमा सांसद खनालको व्यवहारलाई लिएर व्यापक बहस सुरु भएको छ। धेरै प्रयोगकर्ताले जनप्रतिनिधिले मतदाताका प्रश्नको संयमित र जिम्मेवार ढंगले जवाफ दिनुपर्ने धारणा व्यक्त गरेका छन् भने केहीले भिडियोको पूर्ण सन्दर्भ सार्वजनिक हुनुपर्ने तर्क पनि गरेका छन्।यस विषयमा सांसद केपी खनाल वा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।
