विश्वकप छनोटको सम्भावना जीवित राख्ने महत्वपूर्ण अवसर

Spread the love

नेपाल पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग पराजित भएको थियो। लगातार दुई हारपछि नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब रहेको छ।आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले आज नामिबियासँग महत्वपूर्ण प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे नेदरल्यान्ड्सको युट्रेक्टमा सुरु हुनेछ।

शीर्ष ४ को दौडमा नेपालको कठिन चुनौती लिग–२ को अंकतालिकामा नेपाल र नामिबिया दुवैको ३० खेलबाट समान २४ अंक रहेको छ। नेट रनरेटका आधारमा नेपाल पाँचौं स्थानमा रहेको छ भने नामिबिया सातौं स्थानमा छ।विश्वकप छनोटको लक्ष्य कायम राख्न नेपालका लागि अब बाँकी प्रत्येक खेल अत्यन्त महत्वपूर्ण बनेको छ। शीर्ष चार स्थानमा रहन सके नेपाल आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा सिधै प्रवेश गर्नेछ। यस्तै, शीर्ष ६ भित्र रहे नेपालले आफ्नो एकदिवसीय (ओडीआई) मान्यता सुरक्षित राख्नेछ।

यसैबीच, जारी शृङ्खलामा नेपाल र नामिबिया दुवैलाई पराजित गरिसकेको नेदरल्यान्ड्स ३० खेलबाट ३६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको छ।नन्दन यादव बाहिर, हेमन्त धामीले अवसर पाउने खेलका क्रममा ह्यामस्ट्रिङमा चोट बोकेका तीव्र गतिका बलर नन्दन यादव बाँकी खेलका लागि टोलीबाट बाहिरिएका छन्। उनको स्थानमा हेमन्त धामीले अवसर पाउने सम्भावना रहेको छ।

नेपालको टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, अर्जुन कुमाल रहेका छन्।नेपालका लागि आजको खेल केवल दुई अंकको प्रतिस्पर्धा मात्र नभई विश्वकप छनोटको सम्भावना जीवित राख्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। समर्थकहरू पनि टोलीले अघिल्ला दुई हारको बदला लिँदै विजयी पुनरागमन गर्ने अपेक्षामा रहेका छन्।