प्रमाणसहित नामहरू सार्वजनिक गर्ने चेतावनी

Spread the love

चर्चित लोक गायिका कोपिला गौतम पुनः तेस्रो पटक क्यान्सर रोगसँग जुधिरहेकी छन्। हाल अस्पतालको बेडबाट १७ औँ किमोथेरापी गराइरहेकी गायिका गौतमले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै उपचारका लागि आफूले सापट दिएको पैसा फिर्ता गरिदिन सम्बन्धित व्यक्तिहरूसँग याचना गरेकी छन्। कपाल खौरिएको अवस्थामा अस्पतालको बेडबाट सार्वजनिक गरिएको तस्बिर र भावुक सन्देशले धेरैको ध्यान तानेको छ।

बाँच्नका लागि लडिरहेको यो युद्धमा रकमको ठूलो अभाव भएको उल्लेख गर्दै गौतमले आफूले सापट दिएको पैसा समयमा नपाउँदा आफू ऋणमा डुब्नुपरेको गुनासो गरेकी छन्। चुपचाप मृत्यु रोज्नुको सट्टा सार्वजनिक रूपमा बोल्न बाध्य भएको बताउँदै गौतमले अझै पनि पैसा फिर्ता नगरे प्रमाणसहित नामहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्ने चेतावनी दिएकी छन्। आफ्नो जीवन बचाउनका लागि मात्र पैसा मागेको भन्दै जीवनमाथि खेलबाड नगरिदिन गौतमले अस्पतालको बेडबाटै आग्रह गरेकी छन्।