माग सम्बोधन गर्न सकारात्मक
२४औं सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सकले गरेको स्वास्थ्य परीक्षणमा उनको रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० मात्र रहेको पाइएको छ। डा. केसीको स्वास्थ्य परीक्षणपछि चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका छन्। तर डा. केसीले उक्त सुझावबारे आफूले विचार गर्ने बताएका छन्।सहयोगी अमृत जैशीका अनुसार स्वास्थ्य अवस्था बिग्रँदै जाँदा मांसपेशी बाउडिने, बोल्न कठिन हुने तथा खुट्टाको शल्यक्रिया भएका कारण हिँडडुल गर्न र बाथरुमसम्म जानसमेत समस्या भइरहेको छ।
डा. केसी बिहीबारदेखि पाँच बुँदे मागसहित सत्याग्रहमा बसेका छन्। उनले सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शैयाको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको अध्ययन सुरु गर्नुपर्ने तथा स्वार्थप्रेरित रूपमा गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने मागलाई आफ्नो प्रमुख अडानका रूपमा अघि सारेका छन्।उता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार डा. केसीका माग सम्बोधन गर्न सकारात्मक रहेको बताएका छन्। मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीका सहयोगीसँग तथा राति स्वयं डा. केसीसँग टेलिफोन संवाद गर्दै माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने र आवश्यक परे धनगढी नै आउने प्रतिबद्धता जनाएको सहयोगी डा. अमृत जैशीले जानकारी दिएका छन्।
