करदाता त्रसित भएर करको दायरामा नआएको मैले सुन्न नपरोस्-अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस अर्थमन्त्री वाग्लेले बजारमा “कर तिर्नु बोझ होइन, कर प्रशासनमा ठूलो सुधार भयो” भन्ने सन्देश जानुपर्ने बताए।उनले कर संकलनका लागि जबर्जस्ती र त्रासको वातावरण सिर्जना गर्नुको सट्टा स्वैच्छिक कर अनुपालनलाई प्राथमिकता दिन निर्देशन दिए। “करदाता त्रसित भएर करको दायरामा नआएको मैले सुन्न नपरोस्,” उनले भने।
अर्थमन्त्री वाग्लेले कर प्रशासनलाई प्रभावकारी बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिमा कुनै अभाव भए खुलस्त जानकारी गराउन पनि कर्मचारीलाई आग्रह गरे। उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने र ‘मिसन १६ खर्ब’ राजस्व लक्ष्य पूरा गर्न सबैले जिम्मेवारीका साथ काम गर्नुपर्ने उनले बताए।
बजेटमा घोषणा गरिएका कर छुट योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न, करदाता सचेतना बढाउन, कारोबारलाई डिजिटल बनाउन तथा मुलुकलाई एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रयासमा कर प्रशासनले पनि सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।साथै, कर्मचारीको वृत्ति विकास कामको मूल्यांकनका आधारमा हुने उल्लेख गर्दै उनले सरुवाका लागि कुनै पनि प्रकारको सोर्सफोर्स नलगाउन समेत निर्देशन दिएका छन्।
