नेताले ताली र गाली दुवै स्वीकार गर्नुपर्छ -हर्क साम्पाङ
संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै हर्कराज साम्पाङले सरकार ग्यास, पेट्रोलियम पदार्थ, खानेपानीदेखि किसानले मल पाउनसमेत भोग्नुपरेका समस्याप्रति सरकारको ध्यानाकर्षण गराए।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले सरकार जनताका आधारभूत समस्याप्रति गम्भीर बन्न नसकेको आरोप लगाउँदै नेताले जनताको तालीसँगै गाली पनि स्वीकार गर्नुपर्ने बताएका छन्।
संसद् बैठक सत्तापक्षको आन्तरिक बैठकका कारण ढिलो सुरु भएको भन्दै उनले असन्तुष्टि जनाए। नियमअनुसार दुई घण्टाभन्दा बढी ढिलाइ भए बैठक स्थगित हुनसक्ने व्यवस्था हुँदाहुँदै यस्तो ढिलासुस्तीले संसदीय गरिमामै प्रश्न उठाउने उनको भनाइ थियो।
किसानले मल खरिद गर्न जग्गाको लालपुर्जा देखाउनुपर्ने व्यवस्था पनि उनले अव्यावहारिक भएको बताए। वास्तविक किसानले अरूको जग्गा कमाउने अवस्थामा जग्गाधनीको लालपुर्जा देखाउनुपर्ने बाध्यता न्यायोचित नभएको उनको तर्क छ।बजारमा कालोबजारी भइरहेको भए त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी सरकारकै भएको भन्दै साम्पाङले आयातमा निर्भर वस्तुका लागि प्रभावकारी ‘स्टक सिस्टम’ बनाउनुपर्ने बताए।सरकार र आफूविरुद्ध हुने आलोचनालाई लिएर उनले भने, ‘म सबैभन्दा धेरै गाली खप्ने व्यक्ति हुँला, तर कहिल्यै रिसाएको छैन। नेताले ताली र गाली दुवै स्वीकार गर्नुपर्छ।’जनताको समस्या उठाउँदा आउने आलोचनाबाट पछि नहट्ने संकेत गर्दै साम्पाङले सरकारलाई जनसरोकारका विषयमा अझ संवेदनशील बन्न दबाब दिएका छन्।
