सरकारको काम गर्ने शैलीप्रति मधेशमा असन्तुष्टि – अमरेशकुमार सिंह

Spread the love

रास्वपाको संसदीय दलको बैठकमा बोल्दै अमरेशकुमार सिंहले सरकारको कार्यशैली तत्काल सुधार्नुपर्ने बताएका हुन्।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले सरकारको काम गर्ने शैलीप्रति मधेशमा असन्तुष्टि बढिरहेको दाबी गरेका छन्। उनले वर्तमान अवस्था यथावत् रहे मधेशका रास्वपा सांसदले छठपछि जनताको आक्रोश सामना गर्नुपर्ने चेतावनी दिए।बैठकमा उनले भने, ‘यही पारा हो भने मधेशका सांसदले छठपछि पिटाइ खान्छन् ।’

सिंहले सरकारका निर्णय तथा नियुक्तिको प्रक्रियामाथि पनि प्रश्न उठाए। सरकारले नियुक्तिमा ‘मेरिटोक्रेसी’ अर्थात् योग्यताका आधारमा छनोट गर्ने भनिए पनि व्यवहारमा कांग्रेस–एमालेसँग जोडिएका व्यक्तिहरूले धेरै अवसर पाइरहेको उनको आरोप थियो।उनले नियुक्तिहरूको विवरण नियालेर हेर्दा कांग्रेस–एमालेका व्यक्तिहरूको संख्या धेरै देखिने दाबी गरे।रास्वपाको संसदीय दलको बैठकमा सहभागी अन्य सांसदले पनि सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि दबाब दिएका थिए।बैठकमा पार्टी सभापति रवि लामिछानेले समेत मन्त्री तथा सांसदलाई आफ्नो कार्यशैली र व्यवहार सुधार गर्न निर्देशन दिएका थिए। बैठकमा रास्वपाका सबै मन्त्री उपस्थित थिए।