बी एण्ड सी मेडिकल कलेजकाे किस्ता तिरिरहेको बैककाे भनाइ

Spread the love

बी एण्ड सी मेडिकल कलेजले असार महिनामा विभिन्न मितिमा गरेर साढे १२ करोड रुपैयाँभन्दा बढी रकम बैंकहरूलाई बुझाएको जनाएको छ। व्यवसायी दुर्गा प्रसाईंले सार्वजनिक रूपमा साना ऋणीको ऋण मिनाहाको माग गर्दै आए पनि आफ्नै बी एण्ड सी मेडिकल कलेजको बैंक ऋण भने नियमित रूपमा भुक्तानी गरिरहेको खुलेको छ

गत वर्ष राष्ट्र बैंकको नियमअनुसार कर्जाको पुनर्संरचना भएपछि प्रसाईंले नियमित रूपमा किस्ता तिर्न थालेको बैंक अधिकारीहरूको भनाइ छ।ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पनि प्रसाईंले समयमै साँवा–ब्याज तिरिरहेको बताएका छन्। ज्ञवालीका अनुसार प्रसाईंले धेरैजसो किस्ता समयभन्दा अगाडि नै बुझाउने गरेका छन्।

प्रसाईंका अनुसार बी एण्ड सी मेडिकल कलेजको कुल कर्जा पुनर्संरचनापछि करिब ३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। उनले हालसम्म ८७ करोड रुपैयाँ ब्याज मात्रै तिरिसकेको दाबी गरेका छन्। मेडिकल कलेजले सम्बन्धन पाएपछि विद्यार्थी भर्ना सुरु भएकाले आम्दानी बढेको र त्यसपछि नियमित रूपमा बैंकको किस्ता तिरिरहेको उनको भनाइ छ।प्रसाईंले आफूले उठाउँदै आएको ऋण मिनाहाको मुद्दा गरिब तथा असक्षम ऋणीका लागि भएको स्पष्ट पार्दै सक्षम व्यक्तिले बैंकको ऋण तिर्नैपर्ने धारणा दोहोर्याएका छन्। बैंकिङ क्षेत्रका अधिकारीहरूका अनुसार बी एण्ड सी मेडिकल कलेजको वित्तीय अवस्था सुधारिँदै गएको छ भने कम्पनीको आम्दानी र विश्वसनीयता पनि बढ्न थालेको छ।