भिसा अवधि विस्तार गर्ने अधिकार कडाई विश्वविद्यालय बाट सङ्घीय सरकारमा
विद्यार्थी भिसा प्रणालीमा अमेरिकाले परिवर्तन गर्दै नयाँ नियम सार्वजनिक गरेको प्रावधानअनुसार सेप्टेम्बर १५ देखि एफ–वन र जे–वन भिसाधारी विद्यार्थीलाई अधिकतम चार वर्षसम्म मात्र अमेरिका बस्न अनुमति दिइनेछ। अध्ययन पूरा भएपछि दिइँदै आएको ६० दिनको ‘ग्रेस पिरियड’ घटाएर ३० दिनमा सीमित गरिएको छ।अमेरिकाले लामो समयदेखि प्रचलनमा रहेको विद्यार्थी भिसा प्रणालीमा ठूलो परिवर्तन गर्दै नयाँ नियम सार्वजनिक गरेको छ। अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) ले भिसा दुरुपयोग नियन्त्रण, सुरक्षा जाँच सुदृढीकरण तथा विदेशी विद्यार्थीमाथि निगरानी बढाउने उद्देश्यसहित ‘ड्युरेसन अफ स्टेटस’ व्यवस्था हटाएको जनाएको छ।
यसअघि विद्यार्थीले आफ्नो अध्ययन अवधिभर बस्न पाउने व्यवस्था थियो। तर अब तोकिएको चार वर्षे समयावधिभन्दा बढी बस्नुपर्ने अवस्थामा अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (यूएससीआईएस) बाट अनिवार्य स्वीकृति लिनुपर्नेछ।नयाँ नियम लागू भएपछि अहिले अध्ययनरत विद्यार्थीहरू पनि स्वतः यसै व्यवस्थामा समेटिनेछन्। बसाइ अवधि थप गर्न बायोमेट्रिक्स, पृष्ठभूमि जाँचसहित कडा प्रक्रियाबाट गुज्रिनुपर्नेछ। यससँगै भिसा अवधि विस्तार गर्ने अधिकार विश्वविद्यालयबाट सङ्घीय सरकारमा केन्द्रित भएको छ।
