राजनीतिक वृत्तमा व्यापक बहस
मुस्ताङस्थित ऐतिहासिक ‘लो घ्याकर (घार) गुम्बा’ को चित्र सिक्कामा चित्र राख्ने प्रस्ताव गरिएको छ। यदि यही डिजाइन कार्यान्वयन भयो भने सिक्कामा रहेको चुच्चे नक्सा स्वतः हट्नेछ।सरकारले १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न स्वीकृति दिएपछि ‘सिक्काबाट नेपालको चुच्चे नक्सा हटाइँदैछ’ भन्ने विषयले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक बहस सिर्जना गरेको छ।
नेपाल राष्ट्र बैंकले भने मन्त्रिपरिषद्को आधिकारिक निर्णय प्राप्त नभएकाले अन्तिम डिजाइनबारे औपचारिक जानकारी नभएको जनाएको छ। राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार डिजाइन परिवर्तन भएका कारण मात्र सरकारबाट स्वीकृति लिइएको हो।
२०७८ सालमा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्सासहितको सिक्का सार्वजनिक गरिएको थियो। अहिले सम्भावित नयाँ डिजाइन सार्वजनिक भएपछि यसको राजनीतिक र भूराजनीतिक अर्थबारे विभिन्न टिप्पणी हुन थालेका छन्।यद्यपि, सरकार वा नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा हटाउने अन्तिम निर्णय सार्वजनिक रूपमा पुष्टि गरेका छैनन्। त्यसैले यस विषयमा आधिकारिक डिजाइन सार्वजनिक नभएसम्म विभिन्न दाबीहरूलाई पुष्टि भएको तथ्यका रूपमा लिन मिल्दैन।
