खर्च कटौती सुशासनका लागि मन्त्रालयको संख्या ८ कायम-मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ

Spread the love

खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाइयो: बानियाँ
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाएर ८ कायम गरेको बताएका छन् । हेटौंडा-६ मा रहेको बिपी गणेशमान स्मृति शान्ति पार्क (पिसपार्क) उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।


उनले आफू मुख्यमन्त्री भएदेखि आर्थिक मितव्ययिता र सुशासनको पक्षमा काम गरिरहेको बताउँदै यसकै परिणाम स्वरूप अहिले प्रदेशमा मन्त्रालयको संख्या घटाएको बताए । विगतमा १७ जनासम्म मन्त्री रहेको बागमती प्रदेशमा मन्त्रालय घटाएर ८ मा झारेको बताए । उनले प्रदेशमा ‘संगठन तथा व्यवस्थापन संरचना’ छिटै टुंगो लगाएर मन्त्रालय अनुसार नै मन्त्रीको संख्या कायम हुने बताए । हाल केही मन्त्रीहरूलाई विषयगत क्षेत्रको जिम्मेवारी दिएको भए पनि छिट्टै कार्यविभाजन टुंगिने उनको भनाई छ ।


मुख्यमन्त्री बानियाँले पछिल्लो समय सामाजिक सञ्जालमा नकारात्मकता र गालीगलौजको संस्कृति बढेको र मोबाइल हेरेर ठिक/बेठिक नछुट्याई नकारात्मक टिप्पणी गर्ने प्रवृतिले देश विकासमा बाधा पुर्‍याउने बताए । उनले प्रदेश सरकार रहेकै कारण स्थानीय तहसम्म विकास पुगेको बताउँदै यसबारे सकारात्मक सन्देश प्रवाह गर्न प्रदेशबासीसंग आग्रह गरे । उनले प्रदेश सरकारले विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, गरिव परिवारलाई एक हजार घर बनाउने जस्ता काम गरिरहेको बताए ।


रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडाका उपप्रमुख राजेश बानियाँ, कार्यवाहक वडा अध्यक्ष विजय पौडेल, डिभिजनल वन अधिकृत राकेश चन्द्रबंशी, पर्यटन विकास आयोजना हेटौंडाका प्रमुख रोशन श्रीवास्तव, वन समूहका कोषाध्यक्ष गोमा लामिछाने, कार्यसमिति सदस्य पूर्णभद्र चौलागाईं, समाजसेवी भरत सापकोटा, समूहका कार्यालय सचिव भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।