कर्जा सर्तलाई उद्यममैत्री बनाउन तथा निजी क्षेत्रको लगानी वातावरण सुधार गर्न निर्देशन
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग करिब एक घण्टा भएको भेटवार्तामा प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैंकबीचको प्रभावकारी सहकार्यबाट मात्र अर्थतन्त्रप्रतिको विश्वास बढाउन सकिने धारणा व्यक्त गर्नुभयो।प्रधानमन्त्री बालेन्द्र शाह ले राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति थप लचिलो, उद्यममैत्री र लगानी प्रोत्साहन गर्ने खालको बनाउन सुझाव दिनुभएको छ।
भेटका क्रममा प्रधानमन्त्रीले सेयर बजारका लगानीकर्ताको मनोबल बढाउन मौद्रिक नीतिका आवश्यक सीमाहरू खुकुलो पार्न, बैंकहरूको ब्याजदर र कर्जा सर्तलाई थप उद्यममैत्री बनाउन तथा निजी क्षेत्रको लगानी वातावरण सुधार गर्न विशेष जोड दिनुभयो।
उहाँले महिला, युवा तथा पिछडिएका क्षेत्रका उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन मौद्रिक उपकरणहरूको प्रभावकारी प्रयोग गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो। यसबाट उत्पादन, रोजगारी र आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरिएको छ।जवाफमा गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंक व्यावसायिक, सन्तुलित र आवश्यक लचकता भएको मौद्रिक नीति ल्याउन प्रतिबद्ध रहेको बताउनुभयो। अर्थतन्त्रलाई गति दिनु सरकार र केन्द्रीय बैंक दुवैको साझा उद्देश्य रहेको उल्लेख गर्दै उहाँले सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्मलाई अनावश्यक कठिनाइ नपर्ने गरी नीतिगत सहजीकरण गरिने विश्वास दिलाउनुभयो।सरकार र राष्ट्र बैंकबीच भएको यो उच्चस्तरीय छलफललाई आगामी मौद्रिक नीतिमा सम्भावित सुधार तथा अर्थतन्त्रलाई चलायमान बनाउने प्रयासका रूपमा हेरिएको छ।
