नेपाललाई उपलब्ध गराएको राहत सहयोगलाई दुई देशबीचको मित्रता र मानवीय ऐक्यबद्धता
कतारबाट राहत सामग्री बोकेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा तत्काल आवश्यकताका लागि कतार सरकारले सहयोगस्वरूप उक्त सामग्री नेपाल पठाएको हो।रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली नागरिकका लागि कतार सरकारले पठाएको अत्यावश्यक राहत सामग्री नेपाल आइपुगेको छ।
विमानस्थलमा आयोजित एक कार्यक्रममा नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीले राहत सामग्री नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि नेपाल सरकारले मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग राहत तथा मानवीय सहयोगका लागि समन्वय गरिरहेको छ।सरकारले बाढीबाट प्रभावित तथा घरबारविहीन नागरिकका लागि खाद्यान्न, सुरक्षित पिउने पानी, अस्थायी आवास, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक वस्तुको व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।परराष्ट्र मन्त्रालयका अनुसार यसअघि भारत, चीन र संयुक्त अरब इमिरेट्सबाट राहत सामग्री प्राप्त भइसकेको छ। अमेरिका, जापान, कतार, सिंगापुर, अस्ट्रेलिया, मलेसिया, म्यानमार, बंगलादेश र पाकिस्तानलगायत मुलुकबाट पनि थप आवश्यक सामग्री प्राप्त हुने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ।नेपाल सरकारले विपद्को कठिन समयमा मित्रराष्ट्रहरूले देखाएको ऐक्यबद्धता र सहयोगप्रति धन्यवाद व्यक्त गरेको छ।
कतारबाट आइपुगेको राहत सामग्री अब प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी सम्बन्धित स्थानमा पठाउने तयारी गरिएको छ।बाढीका कारण सडक, पुल तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेकाले कतिपय प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन चुनौती देखिएको छ। यस्तो अवस्थामा सरकारले स्थल तथा हवाई माध्यमबाट प्रभावित नागरिकसम्म आवश्यक सामग्री पुर्याउने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।नेपाल र कतारबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ। रोजगारीका लागि ठूलो संख्यामा नेपाली नागरिक कतारमा रहेका बेला विपद्को समयमा कतार सरकारले नेपाललाई उपलब्ध गराएको राहत सहयोगलाई दुई देशबीचको मित्रता र मानवीय ऐक्यबद्धताको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।
