कांग्रेस एमालेसँगको प्रदेशस्तरीय गठबन्धन अन्त्य गर्ने रणनीतिमा
कांग्रेस–एमाले सत्ता सहकार्य अब अन्त्यतिर पुगेको संकेत देखिएको छ। कांग्रेसका चार मन्त्रीले आलोपालो नेतृत्व गर्ने पूर्वसहमति कार्यान्वयन नभएको आरोप लगाउँदै सामूहिक राजीनामा दिएका छन्। उता सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै मन्त्रीलाई बर्खास्त गरेका छन्।करिब दुई वर्षअघि सात बुँदे सहमतिसहित सुरु भएको कांग्रेस–एमाले सत्ता सहकार्य अब अन्त्यतिर पुगेको संकेत देखिएको छ। कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सत्ता साझेदारी क्रमशः अन्त्य गर्ने रणनीति अघि बढाएको स्रोतहरूले बताएका छन्।
कांग्रेसका नेताहरूका अनुसार पूर्वसहमति पालना नगर्नु, प्रदेश सरकारको नेतृत्व परिवर्तनमा असहमति तथा राजनीतिक विश्वासको संकट सहकार्य टुट्नुका प्रमुख कारण हुन्।उच्च स्रोतका अनुसार कांग्रेस नेतृत्वले एमालेसँगको प्रदेशस्तरीय गठबन्धन पूर्ण रूपमा अन्त्य गर्ने रणनीति बनाएको छ। यस विषयमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र एमाले अध्यक्ष केपी शर्मा ओली बीच पटक–पटक संवाद भए पनि सहमति जुट्न सकेन।
यता एमालेले भने अझै संवादमार्फत गठबन्धन जोगाउने प्रयास जारी रहेको जनाएको छ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले प्रदेशमा कसैको स्पष्ट बहुमत नभएकाले संयुक्त सरकारको आवश्यकता रहेको बताएका छन्।कर्णाली र सुदूरपश्चिमपछि कोशी, लुम्बिनीलगायत अन्य प्रदेशमा पनि सत्ता समीकरण फेरिने सम्भावना बढेको कांग्रेस स्रोतको दाबी छ।यससँगै ०८१ असारमा सुरु भएको कांग्रेस–एमाले सत्ता सहयात्रा अब अन्त्यतिर पुगेको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ। नयाँ सत्ता समीकरण कस्तो बन्छ भन्ने विषय भने आगामी राजनीतिक छलफलले तय गर्नेछ।
