आपत्कालीन अवस्थामा १०० सशस्त्र प्रहरी बल ११४४ जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र १२३४ मा सम्पर्क गर्न सकिने
जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार सूचना जारी गर्दै सडक थप जोखिमपूर्ण बनेकाले उक्त सडकखण्ड हुँदै सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन तत्कालका लागि रोकिएको जनाएको छ।लगातारको भारी वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ।

प्रशासनले काठमाडौं उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रुपन्देही, नवलपरासीलगायत पश्चिम क्षेत्रबाट काठमाडौंतर्फ आउँदै गरेका यात्रुहरूलाई चितवनभन्दा अगाडि नबढ्न आग्रह गरेको छ। लगातारको वर्षा र पहिरोका कारण सडक खुलाउने कार्यमा कठिनाइ भइरहेको प्रशासनले जनाएको छ।यात्रामा रहेका वा यात्रा गर्ने तयारीमा रहेका सर्वसाधारणलाई खानेपानी, सुक्खा खाना, प्राथमिक उपचारका औषधि, अतिरिक्त लुगा तथा मोबाइल चार्जरजस्ता अत्यावश्यक सामग्री साथमा राख्न पनि प्रशासनले अनुरोध गरेको छ।

आपत्कालीन अवस्थाका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल ११४४, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र १२३४ तथा जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।
