जनआक्रोशको राजनीतिक असर सरकार स्वयंले व्यहोर्नुपर्ने – महेश बस्नेत
राहदानी विभाग परिसरमा मुगुका गणेश नेपालीले गरेको आत्मदाहपछि सर्लाहीका विवेक मण्डल र काठमाडौंका अश्विन राउतले पनि आत्मदाहको प्रयास गरेको घटनाले गम्भीर चिन्ता बढाएको उल्लेख गरेका छन्।
बस्नेतले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नागरिकहरू किन यति धेरै निराश र असहाय महसुस गरिरहेका छन् भन्ने प्रश्नको जवाफ सरकारले खोज्नुपर्ने बताएका छन्।उनले वर्तमान बालेन नेतृत्वको सरकारले पुराना दल र नेतामाथि आरोप लगाएर जनतामा उच्च अपेक्षा जगाएको तर त्यसअनुसार उपलब्धि दिन नसक्दा असन्तुष्टि बढेको दाबी गरेका छन्।नेकपा (एमाले) का सचिव महेश बस्नेतले पछिल्ला आत्मदाहका घटनाले देशको सामाजिक र मनोवैज्ञानिक अवस्था चिन्ताजनक बनेको बताएका छन्। उनले नागरिकमा बढ्दो निराशा र आक्रोशको वास्तविक कारण पहिचान गरी सरकारले समयमै समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्।
बस्नेतका अनुसार कुनै पनि नेतृत्वको दायित्व जनतामा भ्रम सिर्जना गर्नु नभई भरोसा कायम गर्नु हो। उनले संवाद, उत्तरदायित्व र सुशासनमार्फत जनविश्वास जोगाउनुपर्नेमा जोड दिएका छन्।उनले आत्मदाह वा हिंसालाई कुनै पनि समस्याको समाधान मान्न नसकिने स्पष्ट पार्दै सरकारले नागरिकको असन्तुष्टि समयमै सम्बोधन गर्न नसके त्यसबाट उत्पन्न हुने जनआक्रोशको राजनीतिक असर सरकार स्वयंले व्यहोर्नुपर्ने चेतावनी दिएका छन्।
