चरित्रहत्या गर्ने र झुटा आरोप लगाउनेमाथि कानुनी कारबाही हुनुपर्ने माग

Spread the love

पाथीभरा मन्दिरसँग सम्बन्धित पाथीभरा ‘माता’ (समीर थापा) ले शुक्रबार फेसबुक लाइभ प्रसारणकै क्रममा विष सेवन गरेपछि उनलाई तत्काल उद्धार गरी कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा भर्ना गरिएको छ। हाल उनको उपचार आईसीयूमा भइरहेको छ।प्रदेश अस्पतालकी सूचना अधिकारी अनिता ज्ञवालीका अनुसार विष सेवनपछि उनलाई आकस्मिक उपचारका लागि अस्पताल ल्याइएको हो। अहिले उनको अवस्था चिकित्सकीय निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्यतर्फ उन्मुख रहेको अस्पतालले जनाएको छ। उनले विषको मात्रा र प्रकृतिअनुसार बिरामीको स्वास्थ्य अवस्था फरक–फरक हुन सक्ने बताइन्।

यो घटना केही दिनअघिदेखि सामाजिक सञ्जालमा चलेको विवादपछि भएको हो। चार दिनअघि प्रसारण भएको ‘प्रकाश सुवेदी शो’ मा समाजसेवी बेदिका केसीले पाथीभरा ‘माता’ सम्बन्धी विभिन्न आरोप लगाएकी थिइन्। त्यसपछि समीर थापाले सामाजिक सञ्जालमार्फत लगातार आफ्नो धारणा सार्वजनिक गर्दै आएका थिए।शुक्रबार भने उनले फेसबुक लाइभकै क्रममा विष सेवन गरेको भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको छ।

घटनापछि उनका आफन्तले बेदिका केसी र प्रकाश सुवेदीलाई सार्वजनिक रूपमा लगाइएका आरोपको प्रमाण प्रस्तुत गर्न चुनौती दिएका छन्। साथै, प्रमाणविना चरित्रहत्या गर्ने र झुटा आरोप लगाउनेमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै पाथीभरा ‘माता’को स्वास्थ्यमा कुनै अप्रिय अवस्था आए त्यसको जिम्मेवारी सम्बन्धित व्यक्तिहरूले लिनुपर्ने बताएका छन्।यस घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। हालसम्म विष सेवनको कारण र घटनाका सम्पूर्ण तथ्यबारे आधिकारिक निष्कर्ष सार्वजनिक भइसकेको छैन।