गरिब श्रमिक नागरिकलाई आवश्यकताअनुसार पार्किङ गर्न पाउनुपर्ने
महानगरको जरिवाना (फाइन) प्रणाली गरिब तथा निमुखा नागरिकका लागि अन्यायपूर्ण भएको दाबी गर्दै त्यसलाई हटाउन माग गरेका छन्। राइड सेयरिङ चालक गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि काठमाडौंमा विरोध प्रदर्शन सुरु भएको छ। प्रदर्शनमा सहभागीहरूले ‘१ हजार रुपैयाँ जरिवाना गरिबका लागि निकै महँगो भएको’ भन्दै अहिले लागू रहेको फाइन प्रणाली खारेज गर्नुपर्ने माग राखेका छन्। उनीहरूले गरिब तथा श्रमिक नागरिकलाई आवश्यकताअनुसार पार्किङ गर्न पाउने व्यवस्था मिलाउनुपर्ने पनि बताएका छन्।
आन्दोलनकारीहरूले गणेश नेपालीलाई शहीद घोषणा गर्न, उनका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले राजीनामा दिनुपर्ने मागसमेत अघि सारेका छन्।गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा उनको मृत्यु भएको थियो। घटनापछि विभिन्न समूहले सडक प्रदर्शन गर्दै महानगरको नीतिप्रति असन्तुष्टि जनाइरहेका छन्।
