आवश्यक सुधार र असल अभ्यास कार्यान्वयनमा ल्याउन महानगर प्रतिबद्ध

Spread the love

महानगरपालिकाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारीको व्यवस्था र उनका सन्तानलाई निःशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरेको छ। गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। महानगरका प्रवक्ता नबिन मानन्धरद्वारा हस्ताक्षरित विज्ञप्तिमा परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा कार्यपालिका बैठकबाट विधिसम्मत निर्णय गरिने उल्लेख गरिएको छ।

महानगरले घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले गठन गर्ने छानबिन समितिलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ। साथै, छानबिनबाट प्राप्त निष्कर्ष र सुझावका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने उल्लेख गरिएको छ।विज्ञप्तिमा भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन नेपाल सरकारसँग समन्वय गर्दै आवश्यक सुधार र असल अभ्यास कार्यान्वयनमा ल्याउन महानगर प्रतिबद्ध रहेको पनि जनाइएको छ।