वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको प्रक्रियासँगै आयोजना अगाडि

Spread the love

कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिका क्षेत्रमा निर्माण हुने अर्धजलाशय प्रकृतिको यो आयोजना एलिभेट इनर्जीले विकास गर्न लागेको हो।मुगु जिल्लामा ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भएको छ।कम्पनीले २०७७ सालमै सर्वेक्षण अनुमतिपत्र प्राप्त गरिसकेको थियो भने अहिले उत्पादन अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया अघि बढाइएको छ। यससँगै वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न सार्वजनिक सूचना समेत प्रकाशित गरिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण अर्यालका अनुसार सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन प्राप्त भएपछि आयोजनाको वास्तविक उत्पादन क्षमता अन्तिम रूपमा निर्धारण हुनेछ।आयोजनास्थलमा प्रारम्भिक तयारीका काम सम्पन्न भइसकेका छन् भने डिजाइन तथा हेडवर्क्ससम्बन्धी प्राविधिक अध्ययन हाल हाइड्रोल्याबमार्फत भइरहेको छ। विद्युत्गृहमा चारवटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन र जेनेरेटर जडान गरिने योजना रहेको कम्पनीले जनाएको छ।

आयोजनाबाट वार्षिक औसत १,६२९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। उत्पादित विद्युत् ५५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत फुकोट हब सबस्टेशनमा जोडिनेछ।कम्पनीले सन् २०३३ को अगस्टसम्म आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।विद्युत् विकास विभागका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र सम्भाव्यता अध्ययन प्रतिवेदनको प्रक्रियासँगै आयोजना अगाडि बढाइएको हो। यस आयोजनाको अनुमानित कुल लागत करिब ५५ अर्ब ३३ करोड रुपैयाँ रहने बताइएको छ।