६ जना प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको अवस्था बुझ्न एपीएफ अस्पतालमा
पूर्व गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले नेपाल एपीएफ अस्पताल, बलम्बु पुगेर उपचाररत सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
कैलालीको टीकापुरमा तालिमका क्रममा बेहोस भएका ६ जना प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको अवस्था बुझ्न उनीहरू शुक्रबार अस्पताल पुगेका हुन्। सशस्त्र प्रहरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएको छ।
तालिमकै क्रममा स्वास्थ्य समस्या देखिएपछि बेहोस भएका ती प्रशिक्षार्थीहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। काठमाडौंमा उपचाररत सबै ६ जनाको होस खुलेको सशस्त्र प्रहरीले जनाएको छ।
अस्पतालमा पुगेर पूर्व गृहमन्त्री गुरुङ र महानिरीक्षक पौडेलले चिकित्सक तथा सम्बन्धित अधिकारीहरूसँग उपचारको अवस्था र स्वास्थ्य सुधारबारे जानकारी लिएका थिए।
