प्रयोगशालाको परीक्षण फरक देखिए सम्बन्धित आयोजना प्रमुख नै जिम्मेवार
सबिना प्रजा
डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार अब शंकास्पद देखिएका दूधका खेप तत्काल अस्वीकृत गरिने व्यवस्था लागू गरिएको छ। साथै ‘फ्याट’ र ‘एसएनएफ’ मापदण्ड परिमार्जन गरी उच्च गुणस्तरको दूध मात्र खरिद गर्ने नीति कार्यान्वयनमा ल्याइएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कडा निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी) मा गुणस्तर सुधार अभियानले उल्लेखनीय परिणाम देखाउन थालेको छ। कच्चा दूधको गुणस्तरमा सुधार आउनुका साथै लापरबाहीमा संलग्न कर्मचारीमाथि कारबाही प्रक्रिया पनि अघि बढाइएको छ।
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि गरिएको परीक्षणमा केही चिस्यान केन्द्रबाट पठाइएको दूधको गुणस्तर चलानी विवरणभन्दा कम भेटिएपछि व्यापक छानबिन सुरु गरिएको थियो। त्यसपछि मापदण्डभन्दा कम गुणस्तरको तथा मिसावट भएको करिब ३ हजार लिटर दूध नष्ट गरिएको डिडिसीले जनाएको छ।

लापरबाही गर्ने कर्मचारीमाथि कारबाही
गुणस्तरहीन दूध सङ्कलनमा लापरबाही गरेको आरोपमा चितवनको भरतपुर चिस्यान केन्द्रका प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ। यस्तै, आयोजनाको प्रयोगशालामा कार्यरत मनहरि शर्मालाई पनि मिलेमतोको आशंकामा जिम्मेवारीबाट हटाइएको छ। अन्य चिस्यान केन्द्र प्रमुखसँग समेत स्पष्टीकरण मागिएको छ।डिडिसीले अब चिस्यान केन्द्र र प्रयोगशालाको परीक्षण प्रतिवेदनमा फरक देखिए सम्बन्धित आयोजना प्रमुखलाई नै जिम्मेवार बनाइने स्पष्ट गरेको छ।
किसान भुक्तानी र बिक्रीमा पनि सुधार
संस्थानका अनुसार किसानलाई भुक्तानी गर्ने अवधि ८ महिनाबाट घटाएर ३ महिनामा ल्याइएको छ भने आगामी भदौदेखि २५ दिनभित्रै भुक्तानी गर्ने लक्ष्य राखिएको छ। पछिल्ला दुई महिनामा मात्रै किसानलाई करिब ४० करोड रुपैयाँ भुक्तानी गरिएको छ।डिडिसीका दुग्धजन्य पदार्थको बिक्री ५० प्रतिशतभन्दा बढी वृद्धि भएको छ। रोकिएको आइसक्रिम उत्पादन पुनः सञ्चालनमा आएको छ भने असार १५ लक्षित दहीको उत्पादन तथा बिक्री ७५ प्रतिशतले बढेको जनाएको छ।
घिउ निर्यातदेखि डिजिटल सेवासम्म नयाँ योजना
डिडिसीले खाडी मुलुकमा वार्षिक ५० मेट्रिक टन घिउ निर्यात गर्ने सम्झौताको अन्तिम तयारी गरिरहेको छ। चीनतर्फ पनि घिउ निर्यात प्रक्रिया अघि बढाइएको छ।यसैबीच, आन्तरिक खर्च घटाउन कम उत्पादन हुने चिस्यान केन्द्र मर्ज गर्ने, कर्मचारीले पाउँदै आएको गैरकानुनी सुविधा कटौती गर्ने, नयाँ चिज उत्पादन केन्द्र सञ्चालन गर्ने तथा वेब–आधारित डिजिटल सदस्यता र अनलाइन खरिद प्रणाली सुरु गर्ने तयारी पनि भइरहेको संस्थानले जनाएको छ।डिडिसीका अनुसार संस्थागत सुधारका लागि तीनमहिने कार्ययोजना कार्यान्वयनमा रहेको छ र आगामी दिनमा थप सुधारका कार्यक्रम सार्वजनिक गरिनेछन्।
