आकस्मिक अनुगमन सीमा क्षेत्रमा तस्करी सुरक्षा निकायको सम्भावित संलग्नताबारे छानबिन हुने

Spread the love

सामान्य पोसाक, मास्क, चस्मा र हाफ टिसर्ट लगाएर सीमा क्षेत्रमा पुगेका गृहमन्त्रीले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै सीमापार तस्करीबारे जानकारी लिएका थिए। शनिबार दिनभर गरिएको उक्त अनुगमनको भिडियो सार्वजनिक भएको हो। सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाकाहरूमा सुरक्षा निकायलाई कुनै पूर्वजानकारी नदिई छड्के अनुगमन गरेका छन्। भिडियोमा स्थानीय बासिन्दाले सशस्त्र प्रहरीका एक डीएसपीकै मिलेमतोमा तस्करी भइरहेको आरोप लगाएका छन्। उनीहरूले नाकामा जडान गरिएको सीसी क्यामराको पोल देखाउँदै त्यसकै आडमा अवैध गतिविधि हुने गरेको गुनासो पनि गरेका छन्।

स्थानीयको भनाइ सुनेपछि गृहमन्त्री गुरुङले, ‘सीसी क्यामराको निगरानी कहाँबाट हुन्छ?’ भनेर प्रश्न गरेका थिए। जवाफमा स्थानीयले जिल्ला प्रशासन कार्यालयबाट यसको निगरानी हुने बताएका छन्।गृहमन्त्रीले संवाद गरेको भिडियो कुन सीमा नाकाको हो भन्ने विषय भने खुलाइएको छैन। रास्वपाको महाधिवेशन सकेर शनिबार बिहान वीरगञ्ज पुगेका गृहमन्त्री गुरुङ कुन समयमा सीमा निरीक्षणमा निस्किए भन्नेबारे बारा र पर्साका सुरक्षा अधिकारीहरूलाई समेत जानकारी नभएको बताइएको छ।गृहमन्त्रीको यो आकस्मिक अनुगमनपछि सीमा क्षेत्रमा हुने तस्करी र त्यसमा सुरक्षा निकायको सम्भावित संलग्नताबारे थप छानबिन हुने अपेक्षा गरिएको छ।