लर्ड्स बिजनेस कम्प्लेक्स होटल लाई जिल्ला प्रशासन कार्यालय चितवनद्वारा ३ लाख रुपैयाँ जरिवाना

Spread the love

जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ जरिवाना गरेको छ। यही होटलमा गृहमन्त्री सुधन गुरुङ को अमलेटमा माछाको काँडा भेटिएको घटना सार्वजनिक भएको थियो।

उक्त घटना तथा उपभोक्ताहरूबाट प्राप्त गुनासोका आधारमा लर्ड्स बिजनेस कम्प्लेक्स होटल लाई जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ जरिवानागरेकाे हाे । प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले होटलमा आकस्मिक निरीक्षण गरेको थियो। अनुगमनका क्रममा होटलले गुणस्तरहीन खाद्य सामग्री प्रयोग गरेको भेटिएपछि प्रशासनले कारबाही गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार होटलमा गुणस्तरहीन खाने तेल प्रयोग गरिएको, तरकारीको ताजापनमा पर्याप्त ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालका खाद्य सामग्री प्रयोग गरिएको पाइएको थियो।

प्रशासकीय अधिकृत मदन लामा थिङ का अनुसार होटलको कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र ३८ विपरीत देखिएकाले सोही ऐनको दफा ३९(१)(ख) बमोजिम ३ लाख रुपैयाँ जरिवाना गरिएको हो।

प्रशासनले जरिवानासँगै होटलबाट बरामद गरिएका अखाद्य तथा गुणस्तरहीन खाद्य सामग्री नष्ट गर्न समेत निर्देशन दिएको छ। साथै, व्यवसाय सञ्चालन गर्दा खाद्य सुरक्षाका मापदण्ड पालना गर्न र उपभोक्ताको स्वास्थ्यमा खेलबाड नगर्न सम्पूर्ण व्यवसायीलाई सचेत गराइएको छ।हाल भरतपुरमा रास्वपाको प्रथम महाधिवेशन सञ्चालन भइरहेको छ। महाधिवेशनका क्रममा ठूलो संख्यामा प्रतिनिधि तथा पाहुना सहभागी भएकाले प्रशासनले होटल तथा रेस्टुरेन्टहरूको खाद्य गुणस्तर अनुगमनलाई थप कडा बनाएको जनाएको छ।