अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा नस्लवाद र सांस्कृतिक सम्मान चर्चाको केन्द्रमा
दक्षिण कोरियाली समर्थकतर्फ लक्षित गरिएको भनिएको ‘स्लान्ट–आई’ संकेतको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जातीय विभेदसम्बन्धी बहस चर्किएको छ।दक्षिण कोरियाली इन्फ्लुएन्सर इनोक्याटले आफ्नो इन्स्टाग्राम खातामा सार्वजनिक गरेको भिडियोमा उनी स्टेडियममा बसेर आफू र अन्य समर्थकको भिडियो खिचिरहेकी देखिन्छिन्। सोही क्रममा पछाडि बसेका एक पुरुषले आँखाको कुनातिर औंला तानेर ‘स्लान्ट–आई’ संकेत गरेको देखिन्छ।भिडियोमा उक्त संकेत देखेपछि इन्फ्लुएन्सर असन्तुष्ट देखिएकी छन्। उनले भिडियोसँगै लेखेकी छन्, “विश्वकप हेर्न संसारको अर्को कुनासम्म यात्रा गर्यौं, तर नस्लवादको सामना गर्नुपर्यो।”उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ। धेरै प्रयोगकर्ताले दक्षिण कोरियाली समर्थकसँग माफी माग्दै टिप्पणी गरेका छन् भने केहीले उक्त व्यवहारलाई स्पष्ट रूपमा अपमानजनक र अस्वीकार्य बताएका छन्।
सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले भिडियोमा देखिएका व्यक्तिलाई मेक्सिकोका एक पेशागत संस्थाका पदाधिकारी भएको दाबी गरेका छन्। तर सार्वजनिक रूपमा फैलिएका ती दाबीहरूको स्वतन्त्र पुष्टि भने भएको छैन।यद्यपि, भिडियो भाइरल भएसँगै कथित रूपमा ती व्यक्तिसँग सम्बन्धित सामाजिक सञ्जाल खाताहरू निजी बनाइएको बताइएको छ। केही प्रयोगकर्ताले उनी आबद्ध रहेको भनिएको संस्थालाई समेत कारबाही गर्न आग्रह गरेका छन्।विवादका बीचमा धेरै मेक्सिकन प्रयोगकर्ताले उक्त व्यवहारले सम्पूर्ण मेक्सिकन समुदायको प्रतिनिधित्व नगर्ने बताएका छन्। एक मेक्सिकन प्रयोगकर्ताले दक्षिण कोरियाली समुदायसँग माफी माग्दै यस्तो व्यवहार अस्वीकार्य भएको प्रतिक्रिया दिएका छन्।
यसैबीच, दक्षिण कोरिया र मेक्सिकोका समर्थकबीचको सकारात्मक सम्बन्ध देखाउने अन्य भिडियोहरू पनि सामाजिक सञ्जालमा चर्चामा आएका छन्। एउटा भिडियोमा मेक्सिकन समर्थकहरूले दक्षिण कोरियाली समर्थकलाई काँधमा बोकेर उत्सव मनाएको दृश्य देखिएको छ।फिफा विश्वकप २०२६ मा मेक्सिकोले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको थियो भने दक्षिण कोरियाले चेक गणतन्त्रलाई २–१ ले हराएको थियो। अब दक्षिण कोरिया र मेक्सिकोबीच जुन १८ मा ग्वाडालाहारा रंगशालामा प्रतिस्पर्धा हुने तालिका छ।भाइरल भिडियोपछि विश्वकपजस्तो अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा नस्लवाद र सांस्कृतिक सम्मानको विषय फेरि एकपटक चर्चाको केन्द्रमा पुगेको छ।
