उच्चस्तरीय वार्ता सकारात्मक रूपमा अघि बढेको महत्वपूर्ण बुँदाहरूमा सहमति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि बिहीबार राति गर्ने भनिएको हवाई आक्रमण तथा बमबारीको योजना अन्तिम समयमा स्थगित गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इरानसँग भएको उच्चस्तरीय वार्ता सकारात्मक रूपमा अघि बढेको जानकारी दिएका हुन्।ट्रम्पका अनुसार दुवै पक्षबीच महत्वपूर्ण बुँदाहरूमा सहमति जुटिसकेको छ र त्यसकै आधारमा सैन्य कारबाही तत्कालका लागि रोकिएको हो। उनले वार्ता प्रक्रिया उच्च तहमा पुगेर अनुमोदन भइसकेको दाबी गरेका छन्।
उनले उक्त कूटनीतिक प्रक्रियामा अमेरिका, इजरायल, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, टर्की, पाकिस्तान, बहराइन, कुवेत, जोर्डन र इजिप्टलगायत देशहरू सहभागी रहेको उल्लेख गरेका छन्। अन्तिम सहमतिका बुँदाहरू सबै पक्षले स्वीकार गरिसकेको उनको भनाइ छ।यद्यपि पूर्ण कार्यान्वयन नभएसम्म इरानमाथि लागू गरिएको समुद्री नाकाबन्दी भने कायम रहने स्पष्ट पारिएको छ। सम्झौतामा हस्ताक्षर हुने मिति र स्थान चाँडै सार्वजनिक गरिने जनाइएको छ।यसअघि ट्रम्पले इरानको सैन्य संरचना कमजोर भइसकेको दाबी गर्दै ठूलो आक्रमण गर्ने चेतावनी दिएका थिए। उनले इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग आइल्याण्डसहित ऊर्जा पूर्वाधारमा नियन्त्रण गर्ने धम्कीसमेत दिएका थिए।
