अमेरिकाले निर्णायक कदम चाल्न सक्ने संकेत इरान–अमेरिका तनाव फेरि उच्च बिन्दुमा पुग्ने आशंका
अमेरिकीले बिहीबार राति इरानमाथि ठूलो आक्रमण गर्न सक्ने भन्दै मध्यपूर्वको तनावलाई झनै चर्काउने अभिव्यक्ति दिएका हुन्।ट्रम्पले इरानको अधिकांश सैन्य शक्ति पहिले नै कमजोर भइसकेको दाबी गर्दै अब अमेरिकाले थप निर्णायक कदम चाल्न सक्ने संकेत गरेका छन्। उनको पछिल्लो अभिव्यक्तिपछि इरान–अमेरिका तनाव फेरि उच्च बिन्दुमा पुग्ने आशंका बढेको छ।
उनले आगामी दिनमा अमेरिकाले भेनेजुएलाजस्तै इरानका रणनीतिक तेल तथा ग्यास केन्द्रहरूमा नियन्त्रण जमाउन सक्ने दाबीसमेत गरेका छन्। विशेषगरी इरानको सबैभन्दा ठूलो तेल निर्यात केन्द्र मानिने खार्ग आइल्याण्ड ट्रम्पको निशानामा पर्न सक्ने संकेत गरिएको छ।खार्ग आइल्याण्ड इरानको ऊर्जा अर्थतन्त्रका लागि अत्यन्त संवेदनशील केन्द्र मानिन्छ। त्यहाँ कुनै पनि सैन्य कारबाही भए अन्तर्राष्ट्रिय तेल बजार, मध्यपूर्वको सुरक्षा अवस्था र विश्व राजनीति एकैपटक प्रभावित हुन सक्ने अनुमान गरिएको छ।ट्रम्पको यो नयाँ धम्कीले इरानमाथि सैन्य दबाब बढाउने मात्र होइन, मध्यपूर्वमा युद्धको बादल फेरि मडारिएको संकेत दिएको छ। अब इरानले यस धम्कीको कस्तो जवाफ दिन्छ र अमेरिका साँच्चिकै आक्रमणतर्फ अघि बढ्छ कि दबाबको रणनीति अपनाउँछ भन्नेमा विश्वको ध्यान केन्द्रित भएको छ।
