सामूहिक व्यक्तिगत दुर्घटना बीमा स्वास्थ्य जीवन बीमा तथा बाल शैक्षिक योजनामा समेटिने
सबिना प्रजा
उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकलाई लक्षित गर्दै १० वर्षे व्यापक बीमा सुरक्षा कार्यक्रम अघि बढाउने तयारी गरेको छ। योजना अन्तर्गत दुर्घटना, स्वास्थ्य र जीवन बीमासहित बालबालिकाका लागि शैक्षिक बीमा सुविधा समेत समावेश गरिनेछ।सरकारले तोकेका होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई समेत यो कार्यक्रममा आबद्ध गरिने तयारी भइरहेको छ। त्यसका लागि आवश्यक कार्यविधि निर्माणको काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहजीकरणमा अघि बढाइएको छ।योजनाअनुसार भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकलाई सामूहिक र व्यक्तिगत दुर्घटना बीमा, स्वास्थ्य बीमा, जीवन बीमा तथा बाल शैक्षिक योजनामा समेटिनेछ।
यस कार्यक्रमका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, संघीय मामिला मन्त्रालय, नेपाल बीमा प्राधिकरण, राष्ट्रिय बीमा कम्पनी, स्वास्थ्य बीमा बोर्डलगायत निकायहरू समन्वयमा रहेका छन्।हाल काठमाडौँ उपत्यकाका ६ वटा होल्डिङ सेन्टरमा करिब १ हजार ४८८ जना नागरिक आश्रय लिइरहेका छन्, जसको अधिकांश डिजिटल विवरण संकलन भइसकेको छ। बाँकी विवरण पनि अद्यावधिक गरी बीमा प्रक्रियामा समेटिने सरकारको योजना छ।सरकारले यस कार्यक्रमको सम्पूर्ण बीमा प्रिमियम खर्च आफैं बेहोर्ने बताएको छ। सुरुवाती चरणमा काठमाडौँ उपत्यकाबाट लागू हुने यो योजना १० वर्षसम्म निरन्तर सञ्चालन गर्ने र पछि देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ।
