डेभनस्थित सोर्टन गाउँमा सैन्य हेलिकोप्टर दुर्घटनामा बेलायती नौसेनाका तीन सदस्यको मृत्यु

Spread the love

सबिना प्रजा

बेलायतको दक्षिणपश्चिमी काउन्टी डेभनमा प्रशिक्षण उडानका क्रममा भएको सैन्य हेलिकोप्टर दुर्घटनामा बेलायती नौसेनाका तीन सदस्यको ज्यान गएको छ।बेलायतको रक्षा मन्त्रालयका अनुसार दुर्घटना बुधबार बिहान करिब ४ बजे डेभनस्थित सोर्टन गाउँ नजिक प्रशिक्षण अभ्यासको क्रममा भएको हो। दुर्घटनामा परेको हेलिकोप्टर बेलायती नौसेनाको मर्लिन (Merlin) हेलिकोप्टर भएको पुष्टि गरिएको छ।घटनापछि बेलायती रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै घटनास्थलमा प्रहरी र आपत्कालीन उद्धार टोली परिचालन गरिएको छ।स्थानीय प्रहरीका अनुसार दुर्घटनास्थलमा अनुसन्धान जारी छ र थप विवरण संकलन भइरहेको छ। प्रारम्भिक अनुसन्धानपछि मात्र वास्तविक कारण सार्वजनिक गरिने जनाइएको छ।

बेलायती नौसेनाका प्रमुख जनरल ग्विन जेनकिनले घटनाबारे औपचारिक अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। हालसम्म दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन।यसैबीच, बेलायती प्रधानमन्त्री केइर स्टारमरले घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई अत्यन्तै पीडादायक समयको रूपमा वर्णन गरेका छन्। उनले अनुसन्धान पूरा भएपछि थप विवरण सार्वजनिक गरिने बताएका छन्।दुर्घटना भएको क्षेत्र नजिकै बेलायती नौसेनाका महत्वपूर्ण सैन्य अड्डाहरू रहेका छन्, जसमा पश्चिमी युरोपकै सबैभन्दा ठूलो नौसैनिक अड्डा एचएमएनबी डेभनपोर्ट पनि समावेश छ।अधिकारीहरूले मृतकका परिवारको आग्रहअनुसार केही समयका लागि विवरण सार्वजनिक नगर्ने र गोपनीयता कायम राखिने बताएका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान भने निरन्तर जारी छ।