उद्घाटनमा सहभागिताले दलहरूबीचको राजनीतिक संवाद र शक्ति सन्तुलनबारे समेत चासो
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आज काठमाडौंको खुलामञ्चमा हुँदैछ। समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई कांग्रेसले निमन्त्रणा दिएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उद्घाटन समारोहमा सहभागी हुने तयारीमा छन्। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने भएका छन्। बुवाको निधनको शोकमा रहेका ओलीको स्थानमा महासचिव शंकर पोखरेल सहभागी भएर शुभकामना मन्तव्य दिने बताइएको छ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि उद्घाटन समारोहमा सहभागी हुनेछन्। उनी झापाबाट काठमाडौं आएर कार्यक्रममा सहभागी हुने जनाइएको छ।यता जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी नहुने भएका छन्। उनको स्थानमा सहअध्यक्ष शरतसिंह भण्डारी सहभागी हुने बताइएको छ।
कांग्रेसको महाधिवेशन उद्घाटनमा विभिन्न दलका शीर्ष नेताको सहभागिताले दलहरूबीचको राजनीतिक संवाद र शक्ति सन्तुलनबारे समेत चासो बढाएको छ।
