भारतको भूमि मिचेको अभिव्यक्ति नदिएको हाे त ?

Spread the love

प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति नदिएको सरकारले स्पष्ट पारेको छ ।गत आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको र दुई देश बसेर समस्या समाधान गर्नुपर्ने बताएका थिए । उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा आलोचना भइरहेका बेला सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीको बचाउ गरेका हुन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै प्रवक्ता पोखरेलले प्रधानमन्त्री शाहले नेपालको सीमा मिचिएको विषय राख्दा भारत–नेपाल सीमा संयन्त्रबाट नेपालले पनि भारतको भूमि मिचेको भन्ने कुरा आएको र त्यसप्रति आफू आश्चर्यमा परेको सन्दर्भ प्रस्तुत गरेको दाबी गरे ।प्रवक्ता पोखरेलले प्रधानमन्त्रीको भनाइबारे परराष्ट्र मन्त्रालयले यसअघि नै जानकारी गराइसकेको बताए । उनले भूमि सम्बन्धी सीमा विवाद समाधानका लागि बनेको संयन्त्रका आधारमा प्रधानमन्त्रीले धारणा राखेको दाबी गरे ।

उनका अनुसार सीमा समस्या समाधानका लागि नेपालले कूटनीतिक नोट पठाइसकेको छ । दुई देशबीच रहेका सीमा विवादहरू टेबल टकमार्फत समाधान गरिने सरकारको भनाइ छ ।प्रवक्ता पोखरेलले प्रधानमन्त्री शाहले सदनमा राखेको धारणा पुनः सुन्न सञ्चारकर्मीहरूलाई आग्रहसमेत गरे ।प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिपछि विपक्षी दलहरूले संसद्‌मा आपत्ति जनाउँदै आएका छन् । कतिपयले उक्त अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउनुपर्ने मागसमेत गरेका छन् ।