परम्परागत शैली तोड्दै परिणाममुखी र सुधार केन्द्रित बजेट ल्याउने तयारि
अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रुपान्तरणकारी बजेट ल्याइने बताएका छन्। परम्परागत शैली तोड्दै परिणाममुखी र सुधार केन्द्रित बजेट ल्याउने तयारी भइरहेको उनले स्पष्ट पारे।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको नीतिगत छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले बजेटलाई अतिरञ्जना गर्ने प्रवृत्तिभन्दा बाहिर निकालेर सरकारको आय–व्यय व्यवस्थापनको व्यावहारिक दस्तावेजका रूपमा बुझ्नुपर्ने धारणा राखे।
उनका अनुसार आगामी बजेट निर्माणका लागि सबै मन्त्रालयलाई राष्ट्रिय स्रोत अनुमान समितिले तोकेको करिब १८ खर्ब ९० अर्ब रुपैयाँको सीमाभित्रै रहेर योजना बनाउन निर्देशन दिइएको छ। यद्यपि आर्थिक रुपान्तरणका लागि यो सीमा अपर्याप्त हुन सक्ने टिप्पणी पनि उनले गरे।
विगतमा राजस्व क्षमताभन्दा ठूलो आकारको बजेट ल्याउने प्रवृत्तिले समस्या निम्त्याएको उल्लेख गर्दै उनले आगामी वर्षका लागि करिब १३ खर्ब ३० अर्ब रुपैयाँ बराबरको अनिवार्य दायित्व रहेको र देशको राजस्व क्षमता करिब ११ खर्ब ८० अर्ब रुपैयाँ मात्रै रहेको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले यस्तो अवस्थाले अनिवार्य दायित्व धान्न चुनौती थपिएको भन्दै ऋण परिचालनको आफ्नै सीमा रहेको बताए। करिब १९ खर्ब रुपैयाँको बजेटले ७० खर्ब रुपैयाँको अर्थतन्त्रलाई प्रभावकारी रूपमा चलायमान बनाउन सक्ने वा नसक्ने प्रश्न महत्वपूर्ण रहेको उनले उल्लेख गरे।
सीमित स्रोतका कारण नतिजा नदिने तथा प्रभावहीन कार्यक्रमहरू कटौती गरिने संकेत गर्दै उनले सार्वजनिक खर्चलाई रणनीतिक रूपमा प्रयोग गरिने बताए। साथै सामाजिक क्षेत्रमा लगानीलाई पनि प्राथमिकतामा राखिने उनले बताए।
राजस्व परिचालन सुदृढ गर्न कर सुधारलाई प्राथमिकता दिइने भन्दै उनले आयकर र भन्सार दर उच्च भएको गुनासोप्रति सरकार संवेदनशील रहेको बताए। करको बोझ घटाएर खपत वृद्धि गर्ने लक्ष्यका साथ बजेट तयारी भइरहेको उल्लेख गर्दै उनले “कर घट्दा राजस्व घट्छ भन्ने परम्परागत सोचमा सरकार छैन” भने।
बजेट निर्माणमा सत्तारुढ दलको चुनावी घोषणापत्रलाई मार्गदर्शक बनाइने र मध्यम वर्ग तथा उद्यमी व्यवसायीको सुरक्षालाई केन्द्रमा राखिने उनले बताए। साथै खर्च गर्ने क्षमताको कमजोरीका कारण विदेशी अनुदान घट्दै गएको उल्लेख गर्दै कार्यान्वयन क्षमता अभिवृद्धिमा सरकार केन्द्रित रहेको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले रुग्ण आयोजना, पहुँचका आधारमा समावेश गरिएका योजना तथा नतिजा नदिने कार्यक्रमहरू हटाइने संकेत पनि गरे। “आसेपासे पुँजीवाद झल्किने कार्यक्रम कटौती गरी सुशासनको सन्देश दिनुपर्छ,” उनले भने।
निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख संवाहकका रूपमा चित्रण गर्दै उनले इमानदार व्यवसायीलाई प्रोत्साहन गरिने र अनियमितता गर्नेहरूप्रति कडा कदम चालिने चेतावनी दिए। लगानीमैत्री वातावरण निर्माणका लागि अव्यावहारिक कानुन संशोधन तथा नयाँ कानुन निर्माण गरिने पनि उनले बताए।
अन्त्यमा, अर्थमन्त्री वाग्लेले आर्थिक वृद्धिदर वृद्धि र रोजगारी सिर्जनालाई बजेटको मूल लक्ष्य बनाइने उल्लेख गर्दै करिब ७ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे। साथै जलविद्युत्, खनिज, पूर्वाधार, शिक्षा, स्वास्थ्य र प्रवासी नेपालीको लगानीलाई प्राथमिकतामा राखिने जानकारी दिए।
