अध्यादेशको संख्या ७ जसले राजनीतिक वृत्तमा नयाँ तरंग
सरकारले बुधबार राति थप अर्को अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको छ। यससँगै हालसम्म पठाइएका अध्यादेशको संख्या ७ पुगेको छ, जसले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ।
पछिल्लो अध्यादेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन तथा नियुक्ति सम्बन्धी रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। यसअघि नै संवैधानिक परिषद्, सहकारी, विश्वविद्यालय, सार्वजनिक खरिद र केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेशहरू पठाइसकिएको थियो।
यसैबीच राष्ट्रपति रामचन्द्र पाैडेलले आज दिउँसो ४ बजे शीतल निवासमा कानुनविद्हरूसँग परामर्श बैठक बोलाएका छन्। सरकारको यो कदमलाई विपक्षी दलहरूले “संसद् छलेर गरिएको शक्ति अभ्यास” भन्दै कडा विरोध गरेका छन्। केही नेताहरूले राष्ट्रपतिलाई अध्यादेश जारी नगर्नसमेत आग्रह गरेका छन्।
यता सत्तारुढ दलभित्रै समेत आलोचना सुरु भएको छ। कतिपय सांसदहरूले दुईतिहाइ नजिकको सरकारलाई अध्यादेशमा निर्भर हुनु “बहादुरी होइन” भन्दै प्रश्न उठाएका छन्। अब अध्यादेश जारी हुने वा रोकिने भन्ने निर्णयले देशको राजनीतिक दिशा थप स्पष्ट गर्ने देखिन्छ।
