सुकुम्बासी लाई अदृस्य त्रास र आतंकको छायाँमा सरकारको आदेश पालना-शंकर पाेख्रेल
नेकपा एमालेका महासचिव शंकर पोखरेल ले सुकुम्बासी बस्ती हटाउने क्रममा देखिएको अवस्थाप्रति टिप्पणी गर्दै सुकुम्बासीहरूले ‘अदृष्य त्रास र आतंकको छायाँमा’ सरकारको आदेश पालना गरेको बताएका छन्। थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
पोखरेलले बस्ती छोड्न बाध्य भएका श्रमिक वर्गको पीडा र असहज अवस्था स्पष्ट देखिएको उल्लेख गर्दै सरकारलाई केवल नियम कार्यान्वयनमा सीमित नभई मानवीय दृष्टिकोण अपनाउन आग्रह गरेका छन्। “गरिब र श्रमिकहरूको हातले शहर निर्माण भएको हो, उनीहरूकै पसिनाले बजार र बस्ती चलेका छन्,” उनले लेखेका छन्, “आज उनीहरू बस्ती छोड्दै गर्दा त्यसलाई केवल नियम पालना भएको रूपमा हेर्नु पर्याप्त हुँदैन।”उनले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि अघिल्लो सरकारले भूमि आयोगमार्फत प्रक्रिया अघि बढाएको स्मरण गराउँदै अहिलेको सरकारले पनि त्यसलाई निरन्तरता दिनुपर्ने बताएका छन्। लोकप्रिय जनादेश प्राप्त सरकारको जिम्मेवारी जनताको भरोसा जोगाउने र समस्या समाधान गर्ने भएको उनले उल्लेख गरेका छन्।
पोखरेलले सुकुम्बासीलाई सम्मानजनक विकल्प उपलब्ध गराउन ढिलाइ गर्न नहुने भन्दै तत्काल मानवीय र न्यायोचित समाधान दिन सरकारलाई आग्रह गरेका छन्। साथै, सुकुम्बासीहरूको विश्वास कमजोर भए त्यसले गम्भीर सामाजिक असन्तोष र विद्रोह निम्त्याउन सक्ने चेतावनी पनि दिएका छन्।सुकुम्बासी बस्ती हटाउने विषय अहिले राजनीतिक र सामाजिक रूपमा संवेदनशील बनेको छ। एकातर्फ सरकारले शहरी व्यवस्थापन र अतिक्रमण हटाउने अभियान अघि बढाएको छ भने अर्कोतर्फ विस्थापित नागरिकहरूको पुनर्स्थापना र अधिकारको प्रश्नलाई लिएर बहस जारी छ।
