अचानक जम्काभेटले गैंडाको आक्रमणमा परेर एक सिपाही गम्भीर घाइते प्रतिकारका क्रममा गोली लागेर गैंडाको मृत्यु
आज दिउँसो करिब १२:५० बजे नयाँ गोरख गण अन्तर्गत नवलपुर सेक्टरको सेरी सुरक्षा पोष्टबाट गस्तीमा निस्किएका चार सिपाहीसँग अर्धवयस्क बच्चासहितको आमा गैंडाको जम्काभेट भएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार सिपाहीहरूले गैंडाबाट जोगिन भाग्ने प्रयास गरे पनि गैंडाले लखेट्न छोडेन।
गैंडालाई तर्साउन सुरक्षाकर्मीहरूले १० राउन्ड हवाई फायरिङ गरेका थिए। तर त्यसले पनि आक्रमण नरोकेपछि गैंडाले सिपाही विकास घर्तीलाई लडाएर गम्भीर रूपमा घाइते बनाएको थियो। साथीमाथि आक्रमण भएपछि अन्य सिपाहीहरूले उनको ज्यान जोगाउन बाध्य भएर गैंडामाथि थप दुई राउन्ड गोली चलाएका थिए।गोली लागेपछि गैंडा घटनास्थलमै ढलेको थियो। गैंडाले छोडेपछि घाइते सिपाहीलाई तत्काल उद्धार गरी पोष्टसम्म ल्याइयो र थप उपचारका लागि काठमाडौं पठाइएको छ। हाल उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको ढाड, कम्मर लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ।मृत गैंडाको निकुञ्ज टोलीले पोष्टमार्टम गरेको छ। प्रारम्भिक विवरणअनुसार करिब २४ वर्षको गैंडाको पेटमाथि करङ क्षेत्रमा गोली लागेर मृत्यु भएको हो। निकुञ्जले गैंडाको खाग र खुर सुरक्षित अवस्थामा रहेको जनाएको छ।घटना अमलटारी सेक्टरबाट करिब पाँच किलोमिटर टाढा निकुञ्जको कोर क्षेत्रमा भएको हो। निकुञ्ज प्रशासनले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
